गीत:-हिजो को थिएँ म?



कहाँ पुग्नु थियो कहाँ रोकिएँ म?
सोच्दैछु आज, हिजो को थिएँ म?

ज्वारा उठ्छ सधै, आँखा वरिपरि,
चैत मै थिएँ ,थपियो खडेरी,
आउँछ पालो भन्दै,सधै उम्किएँ म,
सोच्दैछु आज, हिजो को थिएँ म?

आफ्नै पाइला भए,बाटो अध्यारोका,
परेली नै देख्छु,भुमरिका ढोका,
आफ्नै प्रतिबिम्ब, हेरी झुक्कीएँ म,
सोच्दैछु आज, हिजो को थिएँ म?

गजल:-बन्दुक हातमा भएपछी।




मह बन्छ अचार पनि,बन्दुक हातमा भएपछी।
शेर बन्छ लाचार पनि,बन्दुक हातमा भएपछी।

बोले जिब्रो थुतिन्छ,उठे घाँटी रेटिन्छ,
मर्दो रै'छ बिचार पनि,बन्दुक हातमा भएपछी।

मिडियाकै जमाना,मिडियाकै शासन,
राम्रै हुन्छ प्रचार पनि,बन्दुक हातमा भएपछी।

बिहान थियो,मुहान थियो,आज त्यहि चिहान भयो,
मर्यो सदाचार पनि,बन्दुक हातमा भएपछी।

झण्डा बोक्यो फिस्टेले,नारा घोक्यो फिस्टेले,
बन्यो समाचार पनि,बन्दुक हातमा भएपछी।

ढुक्क थिएँ 'नयाँ नेपाल' बन्छ-बन्छ अब,
ब्यर्थै गयो सिच्चार पनि,बन्दुक हातमा भएपछी।
 

गजल-यहाँ यस्तै हुन्छ,

गजल
यहाँ यस्तै हुन्छ,नजानेको हो र।
ढोका थुनी रुन्छ,नजानेको हो र।

माइला-माइली राती,नबोलेकै जाती,
कानै थापी सुन्छ,नजानेको हो र।

युद्द उठाउछ,नारा घोकाउछ,
पछि कान थुन्छ,नजानेको हो र।

दल्छ अझै पनि, भासणको पोतो,
सोच्यो होला चुन्छ,नजानेको हो र।

आफ्नै मुख हेरी फुर्ति लाउछ साले,
सत्र चोटी धुन्छ,नजानेको हो र।

देखीसक्यौ सारा,कुरौटेका पारा,
अब सद्दे कुन्छ,नजानेको हो र।

भै'गो छोड प्यारा,सपनाका कुरा,
च्वास्स मुटु छुन्छ,नजानेको हो र।