पोखिएको पानी

सम्झिएको छु,
-घामले जब पहाडको मफलर भिरीसकेको थियो,
 हिड्नलाई,

 -रंगिन चराहरु पहेलो पृष्टभुमिमा बगिरहेका थिए,

 -त्यतिबेलै तिमीले,
 एक्लो ध्रुवतारा तिर हेरेर भनेकी थियौ,
 “संयोगको यात्रा, संयोगको यात्री,
 अचानक भेटिए झैँ अचानक हराउन के बेर?”

 तर मैले घाटीसम्म आएर पनि भन्न पाएको थिइन,
 “म त पानी हुँ, पानी,
जस्तो भाँडो, उस्तै आकार,
 तताए-बाफ,
 जमाए-बरफ,
जिस्काए-पानी,
 रोए-नुनिलो आँशु,
 र
अन्जुलीमा उभायौ भने-आफ्नै अनुहार,
 वा मान्यौ भने सिङ्गै जीवन पनि
 तर पोख्यौ भने, एउटा मात्र सम्झना l”

 र आज
 त्यहि बोल्न नपाएका बोलीहरु चपाउदै
 त्यहि एउटा सम्झना बाँचीरहेकोछु l

म बेबकुफ


मेरो नजर जहाँ ठोकिएको थियो,
मेरो नजर जहाँ ठोकिएको थियो,
त्यहाँ अरु केहि थिएन,
थियो त केवल, मरन्च्याँसे र पिलन्धरे मेरो अनुहार,
जसलाई बीच पारेर
मान्छेहरु डार्ट खेलिरहेका थिए।
जब मेरो नाक बाङ्गिन्थ्यो तिरले,
मान्छेहरु खुसीले भुइँमा लडिबुडी गर्थे,
चिच्याउथे र चियर्स गर्थे।
जब मेरो आँखा फुट्दथ्यो र कालो हुन्थ्यो,
मान्छेहरु अङ्गालो मार्थे र बुरुक्क उफ्रन्थे जोडले।
जब मेरो कान वा निधार तिर,
तिर छेडीन्थ्यो,
उनीहरु विजयोत्सव मनाउथे,ताली पिट्थे,
छाती फुलाउथे र सजिलो आसन बस्थे।
त्यतिबेलै,
हो!ठिक त्यतिबेलै,
म बेबकुफ,मेरो चेतना र प्रतिष्ठा माथिको प्रहार सम्झेर,
आवाज र कुरूपताको उपहास सम्झेर,
कविता लेख्न बस्थे,चित्र कोर्न बस्थे।
ठिक त्यतिबेला,
जतिबेला मान्छेहरु डार्ट खेलिरहेका थिए।
*********************




‘प्रोल्लास सिन्धुलीयको कविता


आमा, 
के ले हानिरहेकोछ,
मुटुमा यसरी जोडले ढ्वाक- ढ्वाक?
यसरी त मैले,
तिमीलाई गर्भमा हुँदा पनि हानेको थिइन ,
यसरी त बाबुले खोकेको पनि जानेको थिइन l
तिमीले थ्यात-थ्यात सिलौटोमा,
टमाटरको चटनी बनाउदाको आवाज,
वा बाबुले ठ्याक-ठ्याक बन्चराले मुढा चिर्दाको आवाज,
अहँ हुँदै होइन यो l
यो के को अवाज हो आमा?
तिमीले बगरमा गिट्टी कुट्दा त,
पानीले भित्र-भित्रै,
हाम्रा सपना जस्तै बगाउदै गरेको,
बालुवाको स्वर पनि मिसिएको हुन्थ्यो l
तिमीले मैलो पसिना बेचेर किनेको,
मेरो अनुहार जस्तो सेतो कापीमा,
रातो मसिले ‘काट्टा’ लगाइदिने,
गुरु हिड्दा पनि यस्तो सुनिदैन थियो l
वा हाम्रो प्रार्थना देउतासम्म पुग्न नदिने,
मन्दिरको ढ्वांग-ढ्वांग घन्टी,
वा तिम्रो तल्लो पेटको रोग जस्तो,
कुटुकुटु दुखिरहने ठोक्ठोके चराको आवाज,
वा बिहानै हाम्रा अफ्यारा जस्तै बिउझाउन आउने,
ढिकीको ढकार्ल्याक ढ्याक- ढकार्ल्याक ढ्याक l
अहँ हुँदै होइन यो l
के हो आमा?
के हो यो?
के ले हानिरहेकोछ,
मुटुमा यसरी जोडले ढ्वाक- ढ्वाक?
के हो त यो?
म शहरमा एक्लै बसेको पश्चाताप?
वा
प्रोल्लास सिन्धुलीयको कविताको प्रभाब?
********
३१/०३/२०१६/ बिहान १०:०० बजे

भासण गरीरहेको मान्छेसंग l


मेरी आमालाई लछारपछार गर्नेले,
जतिसुकै गाला बजाए पनि,
वा चिप्ला भासण गरेपनि,
म कसरी ताली बजाउँ?
भन्छन् मान्छेहरु,
ऊ ‘ठुलै मान्छे’ भएकोछ,
वा ठुलै मान्छे बन्ने लाइनमा छ l
तर हिजो जसरी आमालाई,
बोक्सिनी नाममा आची खुवाएर गयो,
बिरामी हुँदा “खेलाँची” भनेर गयो l
-जसले गाउँ-गाउँमा आमाको नचाइदो बद्ख्वाई गर्दै हिड्छ,
उनकै अनुहार जोडेर दिल्लगी गर्छ,
-जसले गुन्यु चोली मैले जडौरी दिएको भन्छ,
वा उनको शान र इज्जत मैले थामिदिएको भन्छ
-जसले कानका मडौरी र नाकको बुलाकी मेरै हो भन्दै चिच्याउछ,
अनि त्यसले,
जतिसुकै राम्रो भासण गरेपनि
यो गाउँको दोखालोको थानमा मन्दिर बनाइदिन्छु भने पनि,
सबैको घरको, खरको छाना, टिनको बनाइदिन्छु भनेपनि
वा मझेरी मै धारो जोडीदिन्छु भनेपनि,
म कसरी उसको बिश्वास गरूँ र ताली बजाउँ?
ऊसले त पहिले सित्तैमा नुन खुवाउछ,
अनि पानीको धारा बन्द गरिदिन्छ,
उसले त हिड्न बाटो बनाइदिन्छ,
अनि खुट्टा भाचिदिन्छ l
म त उ बोलिरहेको माइकको लर्कटो नबजोस् भन्छु,
उभिएको जीमिन भासियोस् भन्छु,
चिच्याई रहेको बोली बसोस् भन्छु,
वा भर्खरै रिंगटा लागोस् र ऊ ढलोस् भन्छु l
उसले जस्तो सुकै गीत गाओस्,
कम्मर मर्काओस्,
वा कविता सुनाएर
गाम्लेलाई गद्गद् बनाओस्,
म कसरी मेरो रगतमै बसेको बिगतलाई भुल्न सक्छु र?
म कसरी ओठसम्म आएका बोलीहरु निल्न सक्छु र?
मैले ताली बजाउन त रगत उम्लिनु पर्यो नि खुसीले,
हात जोडिनु पर्यो नी आशाले,
अहँ, जोडिदैन कसैगरी l
म भोकै बसेका दिन बिर्सेर, अहिले कसरी अघाउं?
म जाडोले झन्डै मरेका रातमा, कसरी जीवन भरुं?
तर
तर म त उसलाई कहिल्यै मेरो जस्तो होस् भन्दिन l
मेरो जस्तै रुदाँरुदै आशुको मुहान सुकोस् भन्दिन,
उसको घाममा कसैले लगाम नलगाओस्,
उसको जुन कहिल्यै ननिदाओस् l
बस् यहि इच्छा छ,
मेरो गाउँको बुद्ध मेरै होस्,
मेरो बिश्वासको सगरमाथा मेरै होस्,
गाउँमा शान्ति होस्,
शिर हिमाल झैँ अग्लियोस् ll

२०७२/१२/१८ ८:३०

केहि मुक्तकहरु..

प्रेम पनि यति नृशंश हुन्छ त, कस्को के लाग्छ?
सबै परिवर्तनमा ध्वंश हुन्छ त, कस्को के लाग्छ?
आफै चनाखो हुनुको बिकल्प छैन,
प्रत्येक कृष्णमा कंश हुन्छ त,कस्को के लाग्छ?

गर्दै कुर्ची-भक्ति, गयो दिन मेरो।
खादै हप्कीदप्की, गयो दिन मेरो।
त्रास बोकी,प्यास बोकी,भक्कानोमा श्वास रोकि,
बिना उपलब्धी, गयो दिन मेरो।