गीत-रामलिला सधैं भरी

सत्य सबै, घाम जस्तै, छर्लङै छ वरिपरि।
फेरी किन दुनियामा रामलिला सधैं भरी?

कोही भन्छन मेरै पेवा, हुनैपर्यो सगरमाथा,
कोही सृस्‍टि पूजा गर्छन्, ठुलो भन्छन् मानवता,
कर्णालि झै उर्लेपनी सुक्छौ चैत सुकेसरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

मात्र एउटा चन्द्रमा छ, ताँती लाग्ने हजार छन्,
आफ्नै मात्र नाम ठुलो, आफ्ना-आफ्ना बिचार छन्,
जिल्लिएकै हुन्छन् सबै, चिता माथि पुग्दाखेरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

गीत-घाम जस्तै उज्यालोले

घाम जस्तै उज्यालोले बित्छ मेरो दिन।
रात फेरी, सधैं भरी, हुन्छ कालो किन?

खुशी फुल्ने फूलबारी, अभरमा छ की,
निधारमा भिर मात्रै, लेखिएको हो कि,
सकेन यो जिन्दगीले, उभोमती लिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

जति गैह्रो खोँच हुन्छ, उती अग्लो शिर,
पहाडले कैले पनि, सुनाउदैन पिर,
भन्छन् सब्ले सक्नुपर्छ, सहि नजर दिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

गजल-मेरा कति रुपहरु

मेरा कति रुपहरु, मेरै कति नामहरु।
डर लाग्छ कति टिक्लान्, यस्ता छलछामहरु।

कानै थाक्यो, सुन्दा-सुन्दै, पाउ पर्न आएकोछु,
सक्दिन म सहि राख्न, अरु बदनामहरु।

थोपा जस्तै सागरका,उचालिन्छौं, आकासिन्छौं,
ब्यर्थ छन् है, बुझी राख,हाम्रा घुर्की शानहरु।

कुन्नी के-के छुने अरे, चन्द्र जस्तै हुने अरे,
मैले कस्तो बाटो रोजुँ, कर्दै बरदानहरु।

हर्ख थियो, बर्खा थियो, छुट्टै मिठो तिर्खा थियो,
सोधिरा'छु अब भने, अस्ताए त घामहरु।

म बस्दछु चुपचाप, उ गर्दछ राजकाज,
आफै लेख्छ, आफै पढ्छ, आफै खोज्छ खामहरु।

तिमी भन्छ्यौ 'खहरे'ले बगी कैले रित्तिदैन,
म'नी भन्छु कुनै दिन, थिए यस्तै यामहरु।