कविता :-धेरै हिड्नु थियो

धेरै हिड्नु थियो 

धेरै-धेरै हिड्नु थियो जिन्दगीमा,
धेरै टाढा पुग्नुथियो जिन्दगीमा 
तर खै कहा पुगेछु र?
-हिडेछु मात्रै पैतालाको आयतन भरी,
-पुगेछु मात्र आखाको सीमाना भरी. 

मलाइ छिचोल्नु थियो,
आफ्नै घाटीको भक्कानो पहाड,
 र टेक्नु थियो गुलाबी पूर्वको  क्षितिज 
मैले टिप्नु थियो थियो 
कृष्ण पक्षमा हराएको आमाको चुरा
र बाबुको ज्याकेटको बटन जस्तो 
आखाको घाम,
र आफै पनि बनाउनु थियो 
इन्द्रेणी जस्तो छानो 
वा पसिनाकै सहि
 सन्तानको स्विमिंग पुल. 


मैले खोज्नु थियो 
संगीनिको फुली जस्तो ध्रुवतारा  
सिउदोको गर्विलो गुरास
र आफ्नै मायाको अंशबन्डा गर्ने  
मेरो भावी  परिचय. 

धेरै हिड्नु थियो 
तर के हिडिदो रहेछ  र !
पेन्डुलम जस्तो घामजून भएर 
बादल ,बर्सा,खहरे र सागर जस्तो नियति भएर 
अह! कहिँ पुगीदो रहेनछ 
प्रत्येक ह्यांग ओभर पछिको पछुतो भएर,
वा अनिदो रात पछिको 
बेश्या  बिहान भएर 
अह! कहिँ पुगीदो रहेनछ 

मलाइ  माछा चराइरहेको बकुल्लो जस्तै 
संचयकोस खर्चिदै 
उगिरहनु थियो,
मलाइ अखबारको सिरानीमा 
निदाउनु र बिउझिनु थियो 
मलाइ शुभारम्भको "गणेश" 
र  दुखको बेला "राम-राम" बन्नु थियो.

तर आफ्नै मुटु भएपछी बन्चरो
आखा भएपछी बाढी,
सुस्केरा भएपछी पहिरो,
र श्वासप्रश्वास भएपछी आधी,
अह! कहिँ पुगीदो रहेनछ.

धेरै हिड्नु थियो जिन्दगीमा.