कबिता-एउटा खेलौना

एउटा खेलौना



हामी कहिले
समयको पासोमा आत्महत्या गर्दै
कृष्णको झन्डा बोक्दै हिड्यौं,
हुनसक्छ,
हेनरी ड्युना र नाइटिंगेलको हावा लागेर होला
बेनाम हरिश्चन्द्र बन्दैहिड्यौं
बेफ्वांक पानीको फुर्तिसँग दाँजिएर
वा शुन्य राजनीतिक भड्काउका पिछा गर्दै
वा पोथ्रा आदर्शको बुइ चढ्दै
ढुन्मुनियौ यसरी
जसरी चम्चा दौडमा गुच्चा ढुन्मुनिन्छ।
नियमका पर्खालहरु भत्काउदा
हात कातेर प्रेमिकाको प्रेम दर्साउने अभिमान बोक्यौं
बारीको बुख्याचा जस्तो
बतासको बेगमा नाचिरहदा
आफुमा नर्तकीको घमन्ड पाल्यौँ,
रमितेहरुको वा!वा! र तालिको गड्गडाहट्मा
हामी गौरवान्वित भयौँ,
कहिले ओशो, लेनिनका खहरे आदर्शहरुमा
निश्फिक्री बगिरह्यौ,बगिरह्यौ,
तर,
तर, कहिले सोचिएन
अह! कहिले सोचिएन
क्रमश क्रमश बिउँझीने नवक्षितिजहरु,
हिडिसकेका रोगी बाटोका उपचारहरु,
पाइतलामा उठेका फोराहरु,
वा लाज ढाक्दा लगाएका दर्शनहरु,


साच्चै!!कैले सोचिएन,
गुरु, आमा र परिवार
बरु सोचियो जिन्दगी एउटा खेलौना हो
देश एउटा मिठो ठट्टा हो।

No comments:

Post a Comment