पिर नगर पहाड

पिर नगर पहाड,
म पनि छाती भरिको पहाडले,
पहाडै बनेकोछु तँ जस्तै।

तलाई खौरिएको प्राक्रितीकताले
दु:ख लाग्यो होला,
वन-वन डुल्ने म्रीगजोडी हराए होलान्,
ओठ जोडेर बस्ने ढुकुरहरु अत्तालीए होलान्,
हुनसक्छ-
राधाकृष्णका कथा
कथा मात्र भए होलान्,
हुनसक्छ-
ऐशेलु र काफलका बाहाना बिलाए होलान्,
उदाङो उपस्थितिमा मन रहेनहोला,
लाज लागेन होला दु:ख परिचय भयो होला,
तर पनि, भो पिर नगर पहाड-
म पनि छाती भरीको पहिरोले
पहिरो बनेको छु तँ जस्तै।

चट्याङको उज्यालो भ्रम,
हो की होइनको दोधारे बीगत,
छालले लुछुप्प रुझाएको पल,
बसन्तको नयाँ घुम्टो सिरेटो,
संगैको चन्चलता बस्तीसंगैको नयाँ परिचय,
उफ्! त्यो गूराँसे आनन्द,
ती सबै-सबै तेरो लागि कारण होलान आँशुका,
तर पनि पिर नगर पहाड-
म पनि छाती भरीको  खडेरीले
खडेरी बनेको छु तँ जस्तै।

जब तँ रुन्छस आँशु लुकाएर बर्सामा,
जब तँ रुन्छस पिर बगाएर खहरेमा,
जब तँ काप्छस पिडाका भुकम्पमा-
म छिया-छिया हुन्छु,
जब तँ आत्महत्या गर्न खोज्छस छाँगोबाट-
म मडारिन्छु बाढी बनेर
जब तँ कुहिरो बनेर बेमतलब डुलिरहन्छस-
म चिच्याउछु चट्याङ बनेर,
जब तँ सुसेल्छस सल्लेरिमा कथा-
म भुमरी बनेर छट्पटिन्छु,
जब तँ टोलाउछस
चुपचाप मध्यान्हमा,
म सहन सक्दिन तेरो मौनता
र उचालिन्छु ज्वालामुखी जस्तै,
बजारिन्छु छहरा जस्तै,
लछारिन्छु आँधिको रुख जस्तै,
भत्किन्छु सुनामि किनार जस्तै,
अनी टाउको ठोकेरआफ्नो भाग्य संगै
बिताउछु रात-
खाली आँखाहरुमा,
अनी यसै गरी बगाउछु दिन
मौन बार्ताहरुमा,
भो पिर नगर पहाड-
म पनि आँखा भरीको असारले,
असारै बनेकोछु तँ जस्तै।
     *************

No comments:

Post a Comment