कबिता-"मेरो पट्टु "

"मेरो पट्टु "

पहीले,
धेरै पहीले,
मेरो पट्टु पिन्जडामा थियो।

सुन्दर पितले पिन्जडा,
सरर बतास चल्ने बैठके कोठा,
ऊसको बासस्थान थियो।

थरि-थरी बोल्ने,
रंगिचंगी पनि थियो पट्टु।
तर,धेरै दिन पिन्जडामा टिकेन,
भोकै बस्यो, भाँड गर्यो

रगताम्मे भएर पिन्जडा फोडेर निस्क्यो।
अनी स्वतन्त्र भएर,
बादल्-बादल, हावा हुरि, आधिबेहरि,
झरी र घामपानिमा खेल्न थाल्यो,
हिलाम्मे हुनु, चारो चोर्नु,
हुल जम्मा गर्नु
उसका नियमितता हुन थाले।

तर आजभोलि,
हो, आजभोलि
मेरो पट्टु पुराना दिन सम्झदै,
थोरै अघि बढेर,
खुल्ला पिन्जडा खोज्न थालेको छ।

गजल-आफ्नै दु:ख ठूलो देख्छु

आफ्नै दु:ख ठूलो देख्छु,आफ्नै घाऊ आलो।
म भित्र नै छ की कतै समस्याको जालो।

कुहिरोको काग जस्तै भुमरीमा छु म,
मर्छु-मर्छु, एकैचोटी देउन हास्ने पालो।

नियतीले हानिराख्छ दयाधर्म बिर्सी,
सक्तिन म बुद्ध बनी थापिराख्न गालो।

मन पग्ले भरिन्छु म,होईन भने खाली,
वाक्कै लाग्यो बन्दा-बन्दा भिखारीको डालो।

धन रै'छ जिवन साथी, समाज यो नाता,
दिदी छैन,किन आउथ्यो, आउन छाड्यो सालो।

'खहरे'को जिन्दगी यो सधैं रुनुपर्ने,
मेरो लागि औशी कालो,पुर्णे पनि कालो।

गीत-अब को नै छ र?

म कसरी फर्कुँ भन उही रित्तो घर,
तिमी थियौ सबै थियो अब को नै छ र?

टेक्ने एउटा हागो थियो समाउने डाली,
छैनौ आज भएकोछ मनै खालि-खाली,
टुहुरा छन् बाल बच्चा अधेरो छ घर,
तिमी थियौ सबै थियो अब को नै छ र,



खुशी थियो हासो थियो अब छैन केहि,
भारी जीवन जिएकोछु सधैं रोइ-रोइ,
बाच्छु भन्ने आशा थियो अब छैन भर,
तिमी थियौ सबै थियो अब को नै छ र?

गीत-बाँच्नैपर्ने जिन्दगी यो

रोई-रोई भएपनि बाँच्नैपर्ने जिन्दगी यो ।
धोई-धोई माटोलाई बग्नैपर्ने गण्डकी यो ।।

पाऊ भरी नेलकडी लगाएरै भएपनि,
परेलीका पर्दाहरु झुकाएरै भएपनि,
मनका यी पंखहरु दिमागमा अल्झाएर,
आफैलाई आफै भित्र लुकाएरै भएपनि,

हुनसक्छ परिभाषा गुमाएरै जिन्दगिको,
बग्नदेउ, बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।

आफैलाई दुई भाग लगाएरै भएपनि,
जानि-जानी निंदबाट जगाएरै भएपनि,
इच्छालाई सजायको जेल भित्र कैद गरी,
आँखा चिम्ली सिस्नोलाई समाएरै भएपनि,



हुनसक्छ नाँउ मात्र जोगाउन जिन्दगीको,
तिमीसंगै बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।

गीत-मानिसको जात।

रुदा रुदै हास्न सक्छ देखाएर दाँत,
हाँसी-हाँसी बाँच्न सक्छ सहि सारा घात,
सिधा-सिधा हेर्दाखेरी सिधै पनि लाग्छ,
बुझी कैले नसकिने मानिसको जात।

काडै-काडा बीच पनि हिडेकैछ मान्छे,
जस्तो अग्लो डाँडा पनि चढेकैछ मान्छे,
एक्लै-एक्लै एकान्तमा रुन पनि सक्ने,
आफै आफ्नो भुमरिमा गढेकैछ मान्छे।

उजेलिन्छ घाम जस्तै भएपनि रात,
बुझी कैले नसकिने मानिसको जात।



आबेगका सारा बाढी लुकाउन सक्छ,
आफैलाई उचालेर देखाउन सक्छ,
कैले फेरी पानी जस्तै बिर्सिएर सबै,
जस्तो भाडो उस्तै आफु बनाउन सक्छ।

कैले आफै फुल्छ पनि कैले हुन्छ पात,
बुझी कैले नसकिने मानिसको जात।

गीत-लगाएर पासो

कता जाउँ देख्दिन म जाने कुनै बाटो।
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

आशाहरु सुकाएर आफैलाई बेच्दैछु म,
पर्खालको बीच पनि कता जाने सोच्दैछु म,
पोखुँ भने पिरहरु उर्लिदिन्छ हाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

आज आइ आफ्ना जति पराइका मित्र भए,
सय थरी सपना सबै नबुझिने चित्र भए,
सुम्पिएर कसैलाई सपनाको नाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

कबिता-एउटा खेलौना

एउटा खेलौना



हामी कहिले
समयको पासोमा आत्महत्या गर्दै
कृष्णको झन्डा बोक्दै हिड्यौं,
हुनसक्छ,
हेनरी ड्युना र नाइटिंगेलको हावा लागेर होला
बेनाम हरिश्चन्द्र बन्दैहिड्यौं
बेफ्वांक पानीको फुर्तिसँग दाँजिएर
वा शुन्य राजनीतिक भड्काउका पिछा गर्दै
वा पोथ्रा आदर्शको बुइ चढ्दै
ढुन्मुनियौ यसरी
जसरी चम्चा दौडमा गुच्चा ढुन्मुनिन्छ।
नियमका पर्खालहरु भत्काउदा
हात कातेर प्रेमिकाको प्रेम दर्साउने अभिमान बोक्यौं
बारीको बुख्याचा जस्तो
बतासको बेगमा नाचिरहदा
आफुमा नर्तकीको घमन्ड पाल्यौँ,
रमितेहरुको वा!वा! र तालिको गड्गडाहट्मा
हामी गौरवान्वित भयौँ,
कहिले ओशो, लेनिनका खहरे आदर्शहरुमा
निश्फिक्री बगिरह्यौ,बगिरह्यौ,
तर,
तर, कहिले सोचिएन
अह! कहिले सोचिएन
क्रमश क्रमश बिउँझीने नवक्षितिजहरु,
हिडिसकेका रोगी बाटोका उपचारहरु,
पाइतलामा उठेका फोराहरु,
वा लाज ढाक्दा लगाएका दर्शनहरु,


साच्चै!!कैले सोचिएन,
गुरु, आमा र परिवार
बरु सोचियो जिन्दगी एउटा खेलौना हो
देश एउटा मिठो ठट्टा हो।

कबिता-"मेरो कवित्व"

"मेरो कवित्व"



म हेरिरहेछु,
मेरा सन्तानको मुहार।

कुस्टरोग,पोलियो र एड्ससंगै,
भिन्न आश्थाका भिन्न रङहरु,
मेरा सपनाका सिँढी,
ढुक्क चढ्न सक्दिन बिस्वासमा
त्यसैले, मारिदेउ सन्तानहरु।
आज बाटो बढाउन खुम्चिए कुनै,
नाक जोगाउन उम्किए कुनै,
चिला हुन्छन् रे पात बलिया रुखका,
त्यसैले, अस्तित्व छैन मेरो,
न त भबिस्य नै छ सन्तानको
सपना फगत सपना हो
हुर्हुर दुन्केको पराले आगो
खरानिन्छ छीट्टै,
किनकी बैशमा सबै कवी हुन्छन्।

गीत-गरीबका गीत

गाइने दाइले गाउदै गए गरीबका गीत।
आफ्नो गीत सधैं भरी रह्यो आँफै सित।

कैले भन्छन् हार भयो, कैले भन्छन् जित भयो,
कैले भन्छन् दाजुभाईमा साँधी मिचामिच भयो,
आफ्नो भने कैले पनि नभएर जित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

कैले भन्छन् छानो टालौँ, कैले भन्छन् मानो भरौँ,
कैले मनमुटाब मिली झगडा छिनोफानो गरौँ,
सधैं भरी सबै सँग हुँदै भयभित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

गीत-अध्यारोको तुवालो

अध्यारोको तुवालो छ आँखा वरिपरि।
जिवनको रमाइलो टिपुँ कसो गरी।

आफ्ना मान्छे आस्वासन बाड्ने मात्र गर्छन्,
पराइ त झन् पराइ न हुन भाड्ने मात्र गर्छन्,
भुमरी मै हुन्छु कि म, पाउछु जान पारी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

मैले हास्न थालेँ भने कान थुन्छन मान्छेहरु,
कलेजि मै घाऊ लागे खुशी हुन्छन मान्छेहरु,
फेरिन्छ कि यस्तै हुन्छ मान्छे सधैं भरी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

गजल-म भक्त भए

बोलिको तिम्रो म भक्त भए।
के भनु प्यारी निसब्द भए।

कमल हौ तिमी हिलोमा फुल्ने,
म आफु देख्दा बिरक्त भए।

डुबेर तिम्रो भावनासँग,
म शब्द-सब्द बिभक्त भए।

त्यो म्रीदु प्याला पिउदै जादा ,
म काब्य भित्र ससक्त भए।

बोलिको तिम्रो म भक्त भए।
के भनुँ प्यारी निसब्द भए।

गीत-तिमीलाई देखेँ भने

तिमीलाई देखेँ भने जाने बाटो बिराउँछु।
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

आँखाभरी, ओठभरी यौबनको छाप चोखो,
जिउ भरी देखेपछी मिठो बैश बर्सिएको,
मात चद्छ अंग-अंग बेहोसिमा कराउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

सुन बीना, चाँदी बीना बेहुली झैं मन्डपकी,
अबोध र चन्चल छौ पानी सारी गण्डकीकी,
मैले बोले श्रिगार त्यो बिग्रिन्छ कि डराँउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

गजल-साह्रै बिरामी छु

जहाँ छोयो उहीँ दुख्छ साह्रै बिरामी छु।

तन जल्दा मन जल्यो पुरै खरानी छु।



कैकयि'नी हैन म त , कौसल्या नि हैन,

दुस्ट छोरा जन्माउने अती हरामी छु।



चिनाजानि पनि छैन, कुराकानी पनि छैन,

आँफैलाई चिन्दिन म सब्को बिरानी छु।



अरुलाई दु:ख हुन्छ, अर्को पाइला सुख हुन्छ,

कालो रात बितेपनी कालै बिहानी छु।



बग्दाबग्दै बगरमा हराउने 'खहरे' झैं ,

नपढ्दैमा धित मर्ने तितो कहानि छु।