गजल:-बन्दुक हातमा भएपछी।




मह बन्छ अचार पनि,बन्दुक हातमा भएपछी।
शेर बन्छ लाचार पनि,बन्दुक हातमा भएपछी।

बोले जिब्रो थुतिन्छ,उठे घाँटी रेटिन्छ,
मर्दो रै'छ बिचार पनि,बन्दुक हातमा भएपछी।

मिडियाकै जमाना,मिडियाकै शासन,
राम्रै हुन्छ प्रचार पनि,बन्दुक हातमा भएपछी।

बिहान थियो,मुहान थियो,आज त्यहि चिहान भयो,
मर्यो सदाचार पनि,बन्दुक हातमा भएपछी।

झण्डा बोक्यो फिस्टेले,नारा घोक्यो फिस्टेले,
बन्यो समाचार पनि,बन्दुक हातमा भएपछी।

ढुक्क थिएँ 'नयाँ नेपाल' बन्छ-बन्छ अब,
ब्यर्थै गयो सिच्चार पनि,बन्दुक हातमा भएपछी।