हामीलाई कुकुरले गिज्याइरहेछ।

भारतीय कवि प्रितम सिंह “जख्मी”को कविताको एउटा अंश याद आयो।


 “आज भी कुत्ते कि बफादारी परख्ने कि जरुरत नही है,
पर आज कुत्ता आदमीको अज्माने लगा है,
और जबसे बुझाने लगा है प्यास-
आदमी, आदमी के खुन से,
तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है,
तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है।”

 (आज पनि कुकुरको बफादारीमा शंका गर्नु पर्दैन तर मान्छे यसरी स्वार्थी र हरामी भयो कि कुकुर(पशु)ले पनि सर्वश्रेष्ठ प्राणि मान्छेलाई शंका गर्दैछ।)

यो दुनियाँ बिचित्रको छ। हामी मनलागी गर्न माहिर छौं। मानौं अहिलेको लोकतान्त्रिक स्वतन्त्रताले मनोमानी गर्न पुरै इजाजत दिएकोछ। जे चित्त पर्छ, त्यो गर्न छुट दिएकोछ तर हामी कहिल्यै सोच्दैनौं, हाम्रा पनि जिम्मेदारी छन्,कर्तब्य छन्। नेपालको प्रजातन्त्रको प्रसङ्गमा एकजना अंग्रेजले भनेका थिए रे “नेपालीहरु प्रजातन्त्र र स्वतन्त्रताको लागि लायक छैनन्,भेडालाई खोर मात्र उपयुक्त हुन्छ।”

केहि दिन अघि ट्याक्सी ब्यबसायीहरुको टुडिखेल वरीपरी र खुल्लामंचमा हेरिनसक्नुको जात्रा गरे। नयाँ ट्याक्सी थप्ने सरकारको निर्णयको बिरोधमा उनीहरु आन्दोलनमा थिए। उनीहरु यातायातको क्षेत्रमा अर्को प्रतिस्पर्धी देख्न चाहादैनन्। उनीहरुलाई आफ्नो एकलौटीमात्र जायज छ। यही सेरोफेरोमा एकजनाले सामाजिक संजालमा लेखेकाथिए “यसरी जे मन लाग्यो त्यहि गर्न पाइन्छ भने सरकार, मलाई एउटा ब्यांक लुट्ने व्यवस्था मिलाई दे।”

यो फेसबुक र ट्वीटरको जमाना छ। मन लागेको लेख्न पाइने छुट भएपनि त्यसमा पनि सीमा छन्,मर्यादा छन्। तर हामी दिनदिनै समाचारमा देख्छौं, सोलुखुम्बुमा फेसबुकबाट महिलालाई ब्ल्याकमेल गर्ने समातिए, दाङबाट   फेसबुकमा अश्लिल कमेन्ट लेख्ने पक्डिए। यी सबै नियमित भएकाछन्।

म प्राय देख्छु,कलेज पढेर आएका शिक्षित वा शिक्षित हुन अग्रशर युवायुवतीहरु आकाशे पुलको मुनिबाट बाटो काटिरहेका हुन्छन्। हामी सकेसम्म जे काम पनि चोरबाटोबाट गर्न उद्दत हुन्छौं। हामी पौराणिक कथामा वर्णित राजकुमार झैँ छोटो बाटो हिंडेर आफुलाई बहादुर बनाउनेमा लक्षित छौं। हामीसंग ठग्ने बाहेकको सोंच नै छैन। ब्यापारीहरु ३००% नाफा खान,सकेसम्म फर्जी बिल बनाएर भ्याट छल्न लालायित छन्। मालिकहरु सकेसम्म मजदुरलाई निचोर्न र धेरै मुनाफा कुम्ल्याउन कटिबद्ध छन्। कामदार र मजदुरहरु काममा भन्दा दाम र आरामको पछाडि अग्रसर छन्। नेताहरु राजनीतिलाई पेशा र जनताका मुद्दालाई पदसम्म पुग्ने सिंढीको रुपमा सोच्छन।

 हामी यस्तो संस्कार र प्रणालीबाट दिक्षित भयौं कि जसले आफुसंग भएको “कस्तुरी” चिनाउने होइन कि “लक्ष्मी” लाई चिनाउने वा प्राप्त गर्ने तर्फ उत्प्रेरित गर्छ। बिद्यालयमा विद्यार्थीले पढ्नुको वा पढाउनुको एउटा मात्र लक्ष्य परिक्षा पास गर्नु हो। त्यसपछिको लक्ष्य पैसा कमाउन र बिक्नको लागि सहयोगी हुने खालको शिक्षा लिने हुन्छ।
लेखको खास प्रसंग तिर जाउँ।

एउटा केहि दिन अघि संबिधानको मस्यौदामा सुझाब संकलन नामको नाटक मन्चन भयो। कलाकारहरु दर्शकदिर्घा मै गएर प्रस्तुती दिए तर प्रसङ्ग त्यो नाटकको समिक्षा वा कलाकारिताको समालोचनाको होइन। प्रसङ्ग दर्शकको प्रतिक्रियाको हो। केहि सुझाब यस्ता पनि आए कि जुन हास्यप्रधान थिए। भलै, त्यसको गाम्भीर्यता र तिनको पुस्टिका तर्कहरु आफैमा महत्वपूर्ण होलान् तथापि तिनले चर्चा गतिलै पाए।

तर त्यस मध्ये रास्ट्रिय जनावर कुकुर हुनुपर्ने सुझाब पनि प्राप्त भएको जानकारी आयो। कुकुरको बान्की,रुप र आकारका अधारमा भन्दा पनि त्यो प्रस्ताब कुकुरको बफादारिता,कर्तब्यबोध र जिम्मेदारितामा आधारित थियो।

हामी कुकुरलाई तिहारमा पूजा गर्छौ किनकि उसको बफादारीलाई पूजा गर्छौं तर प्रत्येक वर्ष गरीने उसको बखान र चर्चा भोलि पल्ट देखि बिस्तरिन्छ, हराउछ। पोहोरको गाइजात्रा छेक बामदेब गौतम उर्फ गृहमन्त्रीले रत्नपार्कमा बाटो काट्दै गरेको तस्बिर र कुकुरले जेब्रक्रस प्रयोग गरेको तस्बिर जोडिएर आए। यसको अर्थ हामी पशु भन्दा पनि तल गिरेका छौं भन्ने हो। हुन त पशु अधिकारकर्मीले पशुनिन्दा सहदैनन् तर पशुलाई रचयिताले नै केहि कम क्षमता दिएर पठाएकोछ तर सर्बोत्तम प्राणी मान्छे नै उत्कृस्टताको पगरीका लागि अयोग्य त छैन? हामी माथि रचयिताले गरेको मेहेनत खेर गैरहेको त छैन?
हामी कुन गन्तब्य तर्फ जादै छौ?

एक जना डाक्टरले आफ्नो अस्पतालको बोर्डमा लेखेर राखेका थिए:-
-साँप काट खाए तो एक दिन मे ठिक कर देते है,  
-बिच्छु काट खाए तो दो दिन मे ठिक कर देते है,
-अगर पागल कुत्ता खाए तो सात दिन मे ठिक कर देते है,
तर तल नोटमा लेखेको थियो,
-अगर आदमी,आदमीको काट खाए तो, कृपा कर,हमारे यहाँ मत आए, उसका हमारे पास कोइ इलाज नही है
मान्छे यसरी बिषालु भैरहेकोछ कि उपचार नै असम्भब भएकोछ। हामी पशु भन्दा पनि हिंसालु भएकाछौँ। हाम्रो मानवियतालाई पशुको बिशेसताले जितेकोछ।

यहाँ धेरै कुरा लेख्नुको कुनै अर्थ छैन। आफ्नो वरिपरी थोरै नजर डुलाउनुस अनि आफैले आफैलाई प्रश्न गर्नुस्। के तपाई भित्र अझै “हरी” जिवितै छ त?
त्यसैको गतिलो व्यंग हो माथिको कविता।
जबसे बुझाने लगा है प्यास-
आदमी, आदमी के खुन से,

तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है।

©Bhandari Khahare