मरो घाम


मरो घाम,

मेरो घाम, 
-जसले मलाई तुषारोमा आगो दिन्थ्यो,
मेरो उज्यालो, 
-जसले मलाई अध्यारोमा आँखा दिन्थ्यो,
अब घामै बनेर आकाशमा बसाई सरेकोछ ।

कसरी उक्ल्यो होला,
मुरली बजाउदै,
त्यो अजंगको पहाड?
भन्ज्याँगको उकालो र
देउरालीको सिरेटो,
कसरी सह्यो होला?
कलकत्ता जाने रेलका झ्यालमा,
फिरफिर-फिरफिर बालक घाम,
कस्तो देखिन्थ्यो होला?
मद्रासका कम्पनीमा,
कसरी बिउझिन्थ्यो होला बहादुर घाम?
बम्बईका घरखाता र क्यान्टिनमा,
समोसा पाकिरहेको कराईमा नाचिरहेको घाम,
वा
कुबेतको रेतमा तातिरहेको घाम,
कस्तो देखिन्यो होला?

बादलको
निस्सासिँदो र अफ्ठ्यारो बाटो छिचोलेर,
मलाई बिहान बिउझ्याँउन आउथ्यो

मेरो नाक र निधारमा छोएर जिस्किन्थ्यो।

चैत बैसाखमा तातेर उधुम हुन्थ्यो,
तर आँकुरा उमारेर
मलाई शितल दिन्थ्यो,
साउनमा आफै तताएर पानी
बादल बनेर नुहाइदिन्थ्यो,
शरदको प्यारो र पारिलो घाम
पर्व र जाडोका कपडा,
उपहार लिएर आउथ्यो।

जुनले भनेको सम्झन्छु-
"घाम मेरो सर्वस्व हो,
घाम नै मेरो अस्तित्व हो।"
सोध्नै पाइन,
घाम र जुनका पिरतिका कथा।

मरो घाम,
मेरो उज्यालो,
अब घामै बनेर आकाशमा बसाई सरेकोछ ।