भासण गरीरहेको मान्छेसंग l


मेरी आमालाई लछारपछार गर्नेले,
जतिसुकै गाला बजाए पनि,
वा चिप्ला भासण गरेपनि,
म कसरी ताली बजाउँ?
भन्छन् मान्छेहरु,
ऊ ‘ठुलै मान्छे’ भएकोछ,
वा ठुलै मान्छे बन्ने लाइनमा छ l
तर हिजो जसरी आमालाई,
बोक्सिनी नाममा आची खुवाएर गयो,
बिरामी हुँदा “खेलाँची” भनेर गयो l
-जसले गाउँ-गाउँमा आमाको नचाइदो बद्ख्वाई गर्दै हिड्छ,
उनकै अनुहार जोडेर दिल्लगी गर्छ,
-जसले गुन्यु चोली मैले जडौरी दिएको भन्छ,
वा उनको शान र इज्जत मैले थामिदिएको भन्छ
-जसले कानका मडौरी र नाकको बुलाकी मेरै हो भन्दै चिच्याउछ,
अनि त्यसले,
जतिसुकै राम्रो भासण गरेपनि
यो गाउँको दोखालोको थानमा मन्दिर बनाइदिन्छु भने पनि,
सबैको घरको, खरको छाना, टिनको बनाइदिन्छु भनेपनि
वा मझेरी मै धारो जोडीदिन्छु भनेपनि,
म कसरी उसको बिश्वास गरूँ र ताली बजाउँ?
ऊसले त पहिले सित्तैमा नुन खुवाउछ,
अनि पानीको धारा बन्द गरिदिन्छ,
उसले त हिड्न बाटो बनाइदिन्छ,
अनि खुट्टा भाचिदिन्छ l
म त उ बोलिरहेको माइकको लर्कटो नबजोस् भन्छु,
उभिएको जीमिन भासियोस् भन्छु,
चिच्याई रहेको बोली बसोस् भन्छु,
वा भर्खरै रिंगटा लागोस् र ऊ ढलोस् भन्छु l
उसले जस्तो सुकै गीत गाओस्,
कम्मर मर्काओस्,
वा कविता सुनाएर
गाम्लेलाई गद्गद् बनाओस्,
म कसरी मेरो रगतमै बसेको बिगतलाई भुल्न सक्छु र?
म कसरी ओठसम्म आएका बोलीहरु निल्न सक्छु र?
मैले ताली बजाउन त रगत उम्लिनु पर्यो नि खुसीले,
हात जोडिनु पर्यो नी आशाले,
अहँ, जोडिदैन कसैगरी l
म भोकै बसेका दिन बिर्सेर, अहिले कसरी अघाउं?
म जाडोले झन्डै मरेका रातमा, कसरी जीवन भरुं?
तर
तर म त उसलाई कहिल्यै मेरो जस्तो होस् भन्दिन l
मेरो जस्तै रुदाँरुदै आशुको मुहान सुकोस् भन्दिन,
उसको घाममा कसैले लगाम नलगाओस्,
उसको जुन कहिल्यै ननिदाओस् l
बस् यहि इच्छा छ,
मेरो गाउँको बुद्ध मेरै होस्,
मेरो बिश्वासको सगरमाथा मेरै होस्,
गाउँमा शान्ति होस्,
शिर हिमाल झैँ अग्लियोस् ll

२०७२/१२/१८ ८:३०