भानुभक्त २०७४

भानुभक्त अहिले भैदिएको भए
के गर्थे होला?
बिहानै दलिनबाट खसेको ध्वाँसो लत्पताएर अनुहारमा
अर्धनिन्द्रा मै खोल्थे होला फेसबुक
र गन्थेहोला
हिजो राती पोस्ट गरेको कवितामा आएका बुढी औंलाहरु
अर्थात लाइक कमेन्टहरु।
वा
गुलाबको गालाबाट चिप्लिएर खसेका
सपनाको कविता लेख्थे होला।
वा
आफ्नै बहिनिले उडाएका रंगिन चङ्गा
चुडिएर लट्टाइबाट
टाढा हराएका बिम्बहरु सिउथेहोला।
वा
सम्झिएर आफ्नै बाबुको अनुहार
जसले जिम्मेवारीले थिचिएको एउटा टोपी लगाएकाछन
जसको गाला आगलागी पछिको खरबारी जस्तो छ
जसले आस्कोट्को गोजीमा यौवनका ल्वाङ राखेकाछन
र बेला-बेला चुसिरहन्छन
वा सम्झेर आफ्नै आमा
जसले अफ्ठ्यारोको खहरे बोकेर छातिमा
सागर जस्तै सम्हालिएकी छन
जसले पोतारी जस्तो आँखा लिएर
परिवारको मझेरी रंगाएकी छन
वा लेख्थेहोला
बधुशिक्षामा नारी अधिकारका कुरा
वा लेख्थे होला
कैदीका सेवा सुबिधाका कुरा
वा उर्दु गजल र जापानी हाइकु लाई
नेपालिकरण गर्थे कि
वा
म जस्तै अनिदो रातभर
दुबैको बुर्जखलिफामा उभिएको सपनाले थाकेर
पासपोर्ट बोकेर झोलामा
मास्क्ले छोपेर मुख
पुतलीसडकका म्यानपावर धाउथे होला कि
के गर्थे होला भानुभक्त?
अहिले भैदिएको भए।
साच्चै के गर्थेहोला भानुभक्त?

हिउको गुफा भित्र

अँध्याराहरुले पटक-पटक 
घुम्टो ओढाउन खोज्छन, 
-ताराहरुलाई सीतारा भनेर,
-जुनलाई सजावट भनेर,
दिनका बैगुनहरु बिछ्याउछन्,
घाममा हत्केला लगाउछन्,
आफ्ना नदेखिएका कोठीहरू वा घुचुकहरु
काखी र कापहरुमा अत्तर छर्किन्छन्,
यी नाकका फुली जस्तै भनिने,
- टल्कीरहने
जुनकिरीहरुलाई हेरेर
म कसरी कटाउन सकुँला र रात?
तर
यो निदाउनै नसकेको सपना बोकेर म,
घामका किरण समाएर,
चैत हटाएर पात्रोबाट साउन कुरिरहेको छु l
*****

चुनाब

हरेक जाडोमा,
सिरेटोले चिसिएको बस्ती भित्र,
केहि हुल आगोका झिल्काहरु, 
- उठ्छन, हिड्छन् र चिच्याउछन्
तर
यथार्थ थाहा नपाउदा-नपाउदै
झिल्काहरु, धुवाँहरुसंगै शहिद हुन्छन्,
-हाम्रा सपना, आशा र भरोसाहरु जस्तै I

पोखिएको पानी

सम्झिएको छु,
-घामले जब पहाडको मफलर भिरीसकेको थियो,
 हिड्नलाई,

 -रंगिन चराहरु पहेलो पृष्टभुमिमा बगिरहेका थिए,

 -त्यतिबेलै तिमीले,
 एक्लो ध्रुवतारा तिर हेरेर भनेकी थियौ,
 “संयोगको यात्रा, संयोगको यात्री,
 अचानक भेटिए झैँ अचानक हराउन के बेर?”

 तर मैले घाटीसम्म आएर पनि भन्न पाएको थिइन,
 “म त पानी हुँ, पानी,
जस्तो भाँडो, उस्तै आकार,
 तताए-बाफ,
 जमाए-बरफ,
जिस्काए-पानी,
 रोए-नुनिलो आँशु,
 र
अन्जुलीमा उभायौ भने-आफ्नै अनुहार,
 वा मान्यौ भने सिङ्गै जीवन पनि
 तर पोख्यौ भने, एउटा मात्र सम्झना l”

 र आज
 त्यहि बोल्न नपाएका बोलीहरु चपाउदै
 त्यहि एउटा सम्झना बाँचीरहेकोछु l

म बेबकुफ


मेरो नजर जहाँ ठोकिएको थियो,
मेरो नजर जहाँ ठोकिएको थियो,
त्यहाँ अरु केहि थिएन,
थियो त केवल, मरन्च्याँसे र पिलन्धरे मेरो अनुहार,
जसलाई बीच पारेर
मान्छेहरु डार्ट खेलिरहेका थिए।
जब मेरो नाक बाङ्गिन्थ्यो तिरले,
मान्छेहरु खुसीले भुइँमा लडिबुडी गर्थे,
चिच्याउथे र चियर्स गर्थे।
जब मेरो आँखा फुट्दथ्यो र कालो हुन्थ्यो,
मान्छेहरु अङ्गालो मार्थे र बुरुक्क उफ्रन्थे जोडले।
जब मेरो कान वा निधार तिर,
तिर छेडीन्थ्यो,
उनीहरु विजयोत्सव मनाउथे,ताली पिट्थे,
छाती फुलाउथे र सजिलो आसन बस्थे।
त्यतिबेलै,
हो!ठिक त्यतिबेलै,
म बेबकुफ,मेरो चेतना र प्रतिष्ठा माथिको प्रहार सम्झेर,
आवाज र कुरूपताको उपहास सम्झेर,
कविता लेख्न बस्थे,चित्र कोर्न बस्थे।
ठिक त्यतिबेला,
जतिबेला मान्छेहरु डार्ट खेलिरहेका थिए।
*********************