कथा :- ढुंगी थुप्रो


हिउदको महिनाl घाम बलिथुमको डाँडो मुनी लुकिसकेको थियोl किसानहरु खेतको काम सकेर पाखा तिर उक्लदै थिएl
त्यो बेलामा मान्छेहरु बेशीमा बस्दैन थिएl औलोको डर हुन्थ्योl बेशीमा साना-साना कटेरा बनाउथे र कामको माँचो हुँदा कैलेकाही कटेरामै रात बिताउथेl काम गर्दागर्दै पानी परे ओतिन,गोरु बाध्न,अर्नी खान,धोक्रा र डोका-नाम्ला राख्न तथा धान,पराल र अन्य बालीलाई ओत दिनका लागि कटेरो प्रयोगमा आउंथ्योl

कोहि धानका बोरा बोकेर उकालो चढ्दै थिएl कोहि परालका भारि लिएरl कोहि गोरु लखेट्दै हलो-जुवा काँधमा राखेरl साना-साना केटाकेटी कन्नामा सानो कुटुरो बोकेर घर फर्किदै थिएl

डाँडाको बस्ती र बेशीको बीचमा ठुलो चौतारो थियोl झ्याम्म फैलिएको पिपलको रुखl  ठूला-ठूला छपनी बिछ्याइएकोl टाढा-टाढासम्म फैलिएका पिपलका हाँगाहरु देख्दा लाग्थ्यो, बटुवालाई शितल दिन हातहरु फिंजाईरहेकोछl
उकालो लागेका किसानहरु सबै त्यही चौतारोमा आफ्ना भारी बिसाएl दिन भर गरेका काम र भोलीको मेलोको चर्चा गर्न थालेlगाउँले र छरछिमेकको बारेमा कुरा गर्न थालेl

एकजनाले भन्यो:- “फल्नो त कति बइल्लो,आज पाँच खेप धान बोकेर अईले टौवा जत्रो परालको भारी पनि बोकेर आ”छl”
अर्कोले थप्यो:-“त्यस्का त सबै सन्तानै त्यस्तैl बाउ पनि त्यस्तै थेl क्या जिउ परेछ तिन्को तl”
-“बाउले त सिङ्गै भैसी उचाल्थे रे,जुरुक्कैl”
-“खान पनि कति खान्थे नि बाबै..l हाम्ले खा’नि पाँच जनाको त स्वात्तै पार्थे,एक्लैl”
-“तिन्लाई डर त सिन्को जति पनि नलाउनी रेl पुसुत्तै हुन्थेनन् रे केई सित पनिl”
र गाउँले बीच अहिलेको बलियो र निडरको चर्चा भयोl
त्यत्तिकैमा कसैले उ बलियो,कसैले फलानो बलियो,कसैले म बलियो भन्न थालेl बिस्तारै बिबादै हुन थाल्योl हानाथाप हुन थाल्योl
-“फल्नाले त तिन तारे झुल्कनी बेलाँ सिस्नेको मसानघाटका मुर्दार पोलेका अंगार ल्या भने पनि ल्याउचl”
-“जाबो अंगारl फल्नाले त खसिमारेको चित्वाको ओढाराट किराका बच्चै झिकेर ल्या भने पनि ल्याउचl”
अर्कोले बोल्यो :-“चित्वाका छाउरा जाबा त मैले नि ल्याउचुl”
अर्कोले जबाफ फर्कायो :-“ल्याइस तँ फित्कालेl”
-“नत्र भा तैले ल्याउचस् त साप्रेl”

बिस्तारै बिसयले झगडा कै रुप लिन थाल्योl को निडर भन्ने कुराको निधो गर्न कसैले सकेनl केटाकेटी र आइमाई छेउकुना पसिसकेका थिएl
त्यत्तिकैमा बेतको लौरो टेक्दै,दौरासुरुवालमा ठाँटिएका,काँधमा सुकिलो तौलिया भिरेका मुखिया टुप्लुक्क आइपुगेl सबैको ध्यान मुखिया तिर गयोl
-“चौतारोमा के को कंकलीशब्द हो? खुबै छ त डाँको गाँउलेकोl”मुखियाले किसानहरुलाई सोधेl
किसानहरुले सबै बेलिबिस्तार लगाएl
मुखियाले भने:-“ए तेसो पोl ल त्यसो भा आज राती तिन तारे जुभुंगका डांडामा टेकिनी बेलाँ, जस्ले गएर  च्युरिको लेखाँ दुङ्गो गाडेर आउचl तेइ निडरl”
“म जान्चुl” हतार-हतार एउटा किसान उठ्योl
“ल ठिक छl त्यो सिद्द्को थान आउनी बेलाको तेर्पाएँ बाटो न आउदै थोरै सम्मो छ नि.....हो तेइच्चिम ढुङ्गो गाड्न पर्च बुजिसl” मुखियाले थप प्रस्ट्याएl
 -“त्याँट सुन,हामी राती कुरेर बस्चम,तँ राती नै आउन पर्चl भोली ब्यान यिनी केटाहरु गएर हेर्चनl”
“हुन्चl” किसानले जबाफ फर्कायोl
बिबाद सकियोl थकाइ पनि मर्यो अनि सबै घर तिर उकालो लाएl
*******

राती केहि गाउले मुखियाको घरमा जम्मा भएl किसान तिन तारे जुभुंगको डाँडोमा पुग्नै लाग्दा बाटो लाग्योl “ल छिटो आउनुl यीनीहरु यहि कुरेर बसेका हुन्चनl”
शुक्लपक्षको रात भएकोले टहटह जुन लागेका थिएl राती चितुवाको डर हुने हुँदा किसानले एउटा लठ्ठी र खुर्पा बोकेर हिंडेको थियोl त्यो ठाउँमा झाक्री र पिचास हुन्छ भनेर साँझै कसैले कानमा पारीसकेको थियो, त्यसैले अलिकति फुकेको चामल र मास पनि खुसुक्क दौराको फेरमा बाँधेकोथियोl
सुनसान बाटोl
मान्छेहरु सबै सुतिसकेका थिएl बाटोमा घरहरु पातला थिएl कुकुरहरु भुक्थेl झ्याउकिरी कराइरहेकाथिएl
बिस्तारै किसान उकालो लाग्योl
बस्ती काटे पछी झन्-झन् सुनसान हुन थाल्योl अलिकति डर लाग्न थाले जस्तो भयोl तर दिउसोको बाचा सम्झेर पाइला बलियो पारेर हिड्योl
पुराना भूतका कथा कताकता मनमा खेल्न थालेl बाघ भालु गर्जेको जस्तो आवाज सुनिन थाल्योl कताकता आइमाई हाँसेको जस्तो लाग्न थाल्योl बेलाबेलामा खुर्पा बलियो गरेर समाउथ्योl दौराको फेरमा बाँधेको चामल र मास छाम्थ्योl
जसरी भए पनि उसलाई निडर कहलिनु थियो र पाइला बढाउदै हिडीरह्योl
सानो गोरेटोl छेउछेउबाट तान्न आउने टिमुर,ऐसेलु र चौतारीका काँडाl बेलाबेला झाडीले गर्दा कुइनेटामा पर्ने बाक्लो छायाँl
उसले केहीको प्रबाह गरेन र गन्तव्यमा पुगेरै छोड्योl
माथि भेटिएला कि नभेटिएला भनेर तलै देखि बोकेर ल्याएको लाम्चो ढुङ्गो दौराको गोजीबाट निकाल्यो र भुइँमा गाड्न थाल्योl
ढुङ्गो बलियो गरी गाडेर जुरुक्क उठ्न के खोजेको थियो, उठ्नै सकेनl भुइँबाट केहि बस्तुले ताने जस्तो भयोl जति कोशिस गरेपनि सार्थक हुन सकेनl 
एक्कासी उसलाई सबै भुत,पिसाच,झाक्री र किचकन्याको याद आयोl
भनन्न रिंगटा लागे जस्तो भयोl
घुप्लुक्क ढल्यो र होश हरायो अनि केहि समयमै प्राण गुमायोl
****

तल गाउमा मान्छेले कुरिरहेl किसान फर्केनl उज्यालो भयो,अहँ किसानको कुनै फर्कने चाल देखिएनl गाउले जम्मा भएर किसानलाई खोज्न जाने निधो गरेl लेखको बस्तीमा सोधियो, कतैबाट उसको खबर आएनl
कतै नदेखेपछि गाउले सिद्दको थान तिर हिडेl
त्यहाँ पुग्दा त किसान पल्टिएकोछl उठाउन खोजेl केहि चिजले अल्झाए जस्तो भयोl
एसो तल हेर्दा त किसानले दुङ्गो ठोक्दा आफ्नो दौराको फेर भुइँमा लत्रिएको रहेछl त्यही फेरमा पनि ढुङ्गो ठोकेछ र उठ्न खोज्दा नसकेपछि आत्तिएर प्राण त्यागेछl
*****

गाउलेले दुख मानेl
****

सो दिन देखि त्यही किसानको सम्झनामा हालको ढुंगी थुप्रिमा ढुङ्गा चढाउँन थालियोl
र आफु पनि किसान जस्तै निडर रहेको भन्ने देखाउनको लागि प्रमाण स्वरूप ढुङ्गा चढाउँन शुरु गरेl
*********
(जनश्रुतीलाई आधार मानेर यसलाई कथाको रुप दिइएको होl यो स्थान गुल्मी,रुपाकोटमा पर्छ l)


 © भण्डारी खहरे