गीत-तिमीलाई सधैभरी

तिमीलाई सधैभरी दु:ख मात्रै दिएँ होला।
लाग्छ कतै दु:खै दिन म जन्मेको थिए होला।

प्यार थियो उपहार, त्यहाँ  अन्धकार देखेँ,
फुलै-फुल  पन्छाएर जतातहिँ काँडा रोपेँ,
कति मीठा आशाहरु थिए तिम्रो जिन्दगीमा,
तर सबै सोहोरेर  सेलाई दिएँ गण्डकीमा,

खोज्छौ होला माया मेरो सधैं दिन उदाउदा,
नभेटेर रुन्छौहोला गोधुलीले चियाउदा,
एउटा जनम त्यसै गयो अर्को जनम भेट भए,
बाचा गर्छु सधैं तिम्रो,गर्नेछु म जय-जय।

गीतीकबिता-कैले घाम उदाउने?

कैले घाम उदाउने?कैले शीत ओभाउने?
कैले खुशी उम्लिएर परेली यो भिजाउने?
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

भन्छन् रुप फेरी राख्नु बादलको नियम हो,
घामपानी बाढि पैरो खेल हो रे समयको,
अन्योल र अशान्ति कै राज देख्छु आज पनि,
भन्नेहरु भनिराख्छन रुने दिन गयो-गयो।

कसको मुख हेर्ने अब कसरी मन बुझाउने
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?


सपनाका गैरिखेत बगरमा सरेछन की,
परेविका दुतहरु अभरमा परेछन कि,
नमिल्नु नै देख्छु मैले मिल्ने एउटा सम्रचना,
बिहानीको सन्कल्प नै जहरमा गरेछन् कि।

यस्तो बेला कता जाने, कसरी दिन बिताउने,
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

कविता;-अब सुरुवात

अब सुरुवात

उसले चुपचाप हेरि,
उसले पनि हेरिरह्यो।

उ हाँसी,
उ पनि मुस्कुरायो।

उ बोली,
उसले पनि साथ् दियो।

अनी एक दिन उसले
आँखा जुधाइ,
आँखा?
जुधाएन, झुकायो।

र बिस्तारै नजिकिदै
उसले बेस्सरी चिमोटी
(मायाले हो कि) भित्रै सम्म चिमोटी,
उसले मुसुक्क हाँस्दै
घाऊ मुसारिरह्यो।
       ******
तर.........
सुनिन्छ  आजकल्
उ साथ् होईन शुरुवातको लागि माहिर छ।
   *************

गीत-मेरो बिचार

मेरो बिचार् अलग् छ,मेरो व्यबहार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।


देख्दिन मान्छेमा मान्छेको रंग,
पाउदिन फूल्मा म फूलको सुगन्ध,
म टेक्ने सुनौलो संघार छ,
नआउ बिथोल्न, संसार अलग् छ।




भिडन्तै-भिडन्तमा बसन्त खोज्ने,
पराया पिडामा उमंग देख्ने,
म मर्नु परे'नी त्यो स्वीकार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।

पिर नगर पहाड

पिर नगर पहाड,
म पनि छाती भरिको पहाडले,
पहाडै बनेकोछु तँ जस्तै।

तलाई खौरिएको प्राक्रितीकताले
दु:ख लाग्यो होला,
वन-वन डुल्ने म्रीगजोडी हराए होलान्,
ओठ जोडेर बस्ने ढुकुरहरु अत्तालीए होलान्,
हुनसक्छ-
राधाकृष्णका कथा
कथा मात्र भए होलान्,
हुनसक्छ-
ऐशेलु र काफलका बाहाना बिलाए होलान्,
उदाङो उपस्थितिमा मन रहेनहोला,
लाज लागेन होला दु:ख परिचय भयो होला,
तर पनि, भो पिर नगर पहाड-
म पनि छाती भरीको पहिरोले
पहिरो बनेको छु तँ जस्तै।

चट्याङको उज्यालो भ्रम,
हो की होइनको दोधारे बीगत,
छालले लुछुप्प रुझाएको पल,
बसन्तको नयाँ घुम्टो सिरेटो,
संगैको चन्चलता बस्तीसंगैको नयाँ परिचय,
उफ्! त्यो गूराँसे आनन्द,
ती सबै-सबै तेरो लागि कारण होलान आँशुका,
तर पनि पिर नगर पहाड-
म पनि छाती भरीको  खडेरीले
खडेरी बनेको छु तँ जस्तै।

जब तँ रुन्छस आँशु लुकाएर बर्सामा,
जब तँ रुन्छस पिर बगाएर खहरेमा,
जब तँ काप्छस पिडाका भुकम्पमा-
म छिया-छिया हुन्छु,
जब तँ आत्महत्या गर्न खोज्छस छाँगोबाट-
म मडारिन्छु बाढी बनेर
जब तँ कुहिरो बनेर बेमतलब डुलिरहन्छस-
म चिच्याउछु चट्याङ बनेर,
जब तँ सुसेल्छस सल्लेरिमा कथा-
म भुमरी बनेर छट्पटिन्छु,
जब तँ टोलाउछस
चुपचाप मध्यान्हमा,
म सहन सक्दिन तेरो मौनता
र उचालिन्छु ज्वालामुखी जस्तै,
बजारिन्छु छहरा जस्तै,
लछारिन्छु आँधिको रुख जस्तै,
भत्किन्छु सुनामि किनार जस्तै,
अनी टाउको ठोकेरआफ्नो भाग्य संगै
बिताउछु रात-
खाली आँखाहरुमा,
अनी यसै गरी बगाउछु दिन
मौन बार्ताहरुमा,
भो पिर नगर पहाड-
म पनि आँखा भरीको असारले,
असारै बनेकोछु तँ जस्तै।
     *************

"तिम्रो कविता"

एकान्त,
चक्रवर्ती किरण,
शुन्यतामा  सम्पुर्णता,
सम्पुर्णतामा  शुन्यता
अनी कतै-कतैको पेन्डुलम हुँदै
कसरी गरुँ चिरफार यो सन्जालको?

एक दिन
शान्त,
निर्मल र कंचन पोखरीमा
ढुङ्गा फाल्दा,
छल्किएको पानीले रुवाएको त्यो क्षण सम्झदै,
कल्पिरहेछु र
सहिरहेछु सोही पुनरागमन।

तिमी मोहन  कोइराला र
बैरागी काइँला हुँदै,
हुनसक्छ इश्वर बल्लभ र मोमिला  हुँदै,
तिनकै नवजात स्वरुप लिएर
मेरो दैलो उघार्न आएकी छौ,
म भने
गाइनेदाइका बिरह सम्झदै,
पधेर्निका खास्खुस ओकल्दै,
हुनसक्छ
पियारीका पियार फुकाउदै,
वा दिलमा देश् दुखाउदै,
तिम्रो आगमनको दैलो उघार्दैछु।

तिमी बेदका ऋचाहरु
'पूर्णस्य पूर्ण मादाय पूर्ण मेवा बस्यिस्यते'लाई
नेपालीकरण गर्दैछौ,
तिमी देबकोटाका
एकबाट एक झिके एकै बाँकी रहने दर्शनलाई पछ्याउदैछौ,
तिमी आधुनीक जीवनका चालहरु पेन्डुलममा दाज्दैछौ,
तिमी शुन्यता र गहिरो शुन्यतामा
तिमी एउटा शुन्य अस्तित्व खोज्दैछौ।

वास्तबमा हामी जतिसुकै उफ्रेपनी
जस्तो की 'भुपि' जस्तै उफ्रेपनी-
हामीले छुने शुन्य आकाश हो,
हामी जतिसुकै कराए पनि
सुनिने  खोक्रो मौनता हो,
हामी जतिसुकै हिंडेँपनी
पुगिने शुन्य प्रस्थान हो,
वा जिवनका हिसाब्-किताब
सबै शुन्यगत छन् र
तिमी पनि स्विकार्छेउ त्यहि शुन्य अस्तित्व।

तिमी सम्पुर्ण नारी स्वभाबहरु बोक्दै
मौन मनोबाद संगाल्दै,
कतै सेती जस्तै लुक्दै-लुक्दै, प्रेमिका झैं,
कतै गण्डकी जस्तै उर्लदै-उर्लदै,किशोरी झैं,
कतै कोशी जस्तै फैलदै-फैलदै,आमा झैं,
र कतै काली झैं सहदै-सहदै बुहारी झैं,
प्रत्येक खालि-खाली वा
डट्-डट् हरुमा
बिशाल समुद्री छालहरु बगाउदै
जान्छ्यौ बिशाल सागरमा
अर्को बिशालताका लागि
र सोच्दै पनि छु
अर्को बिलिनताका लागि
इस्वरीय  सत्ता स्विकारे झैं  गरी
वा हुनसक्छ पराधीन सिपाही झैं।

कतै लेख्नका लागि लेखिए झैं,
कतै लेखीनका लागि लेखिए झैं,
वा कतै अन्य प्रयोजनका लागि
लेखेका कबिताहरु
केही बिरल्-बिरल जस्ता शब्दहरु,
केही गहन-गहन जस्ता भाबहरु,
प्याज फोके जस्ता अस्तित्वहरु-
पानिका फोका जस्ता उपस्थितीहरु-
तासका महल जस्ता शालिनताहरु-
हात्तीका  बंगारा जस्ता शोभाहरु-
भत्काएर- यी सबै
परको ठोसमा
परिणत तिम्रा कबिता
मेरा लागि शिशिफसका परिश्रम जस्ता थिए।

म स्वरुप जस्तै सरल,
मन जस्तै तरल,
देबकोटा, भुपी र दिनेश अधिकारी हुँदै
श्रवण मुकारुङ सम्म आफ्ना सीमा तोक्दछु,
गोर्कि,प्रेमचन्द, टल्स्टाय हुँदै
धुर्बचन्द्र, दुर्गालाल र कालीप्रसाद तिर डोरिदैछु।
त्यसैले म भन्छु एउटा कथा र चित्र जस्तै
वा एउटा गीत र मनोबाद जस्तै,
जुन स्वभाबीक मानसबाट उम्रन्छ,
तिनै गोरेटो  समाउदै
जाउ तिमी पनि मान्छेको देखिने र हुने अस्तित्व तिर

सरल्-सरल भित्र नै बिरल भाब लिएर।

मलाइ लाग्छ,
मान्छे मुर्ती जस्तै पनि हो स्वरुपमा
तर भाब मान्छे जस्तै हुनुपर्छ सजीव र
मुर्त भित्र-भित्रै अमुर्त   वा
मुर्त- अमुर्तको  दोहोरो सम्रचना
जहाँ
कसैले देखोस् त्यो भाब भित्र आफ्नो भासा,
कसैले देखोस् त्यो चित्र भित्र आफ्नो चित्कार
त्यसैले कसैका लागि हुनुपर्छ तिमिले
कोहि हुन्छ  तिम्रो छायामा  शीतलता खोज्ने
कोहि हुन्छ तिम्रो उदयमा बिहानी देख्ने
किनकी तिमी पनि आज कवी बन्ने धुनमा छौ।

हुन त मेरै परिभासा दोभासे छन्
म कवी हुँदै सार्वजनिक भएपछी
सार्वजनिकिकरण तिर पनि जानुपर्छ
वा राजनितिक परिभासामा
रास्ट्रियकरण गर्नुपर्छ आफैलाई
तर जिउने आफ्नो जीवन हो
तैपनी यो मेरो शैलीको  वकालत पनि हुनसक्छ
आफ्नो ढाकछेप  पनि हुनसक्छ
र पनि यो मेरो ब्रम्ह हो
मेरो स्वरुप हो
र मेरो मान्यता पनि।

लेख्दालेख्दै लेख्दैछु
लेखिनु मूल होईन देखिनु मूल हो,
देखाउनु मूल होईन देख्नु मूल हो
र यो पनि थाहा छ-
जीवन शुत्रबाट चल्दैन-
यो पानीको धुर्वसत्य नियम जस्तै हो,
गती नियन्त्रित हुदैन-
यो हावाको  प्राक्रितिक नियन जस्तै हो,
शैली गणितिय हुदैन-
यो दिन-रात जस्तै स्वाभाबिक हो।

तिमी तिम्रा लेखाइमा उकेरा दिदै गर्दा
तिमीलाई तिम्रो स्पस्ट मनको संकेत मिल्ला
  तिम्रो स्वास्प्रस्वास  जस्तै  सहज लाग्ला
तिम्रो निन्द्रा जस्तै आनन्द होला
तर सम्झ
तिमिले कवितात्मक मुड दिदै गर्दा
एउटा पाठक
तिम्रो छेउ समाप्ती ढुकिरहेको हुन्छ।

देवकोटाले झैं भन्छु,
"कनिकुथी साहित्य लेखिदैन"
यो सलल बग्नुपर्छ नारायणी झैं
सबै सांध-सीमा भत्काएर
तिमी केही लुकाउने भन्दा माथि-
केही देखिने स्वरुप लिएर आउ
र च्यात
नारी अर्तर्मुखिता।

बैशालु बर्तमान,
अस्तित्वको खोज
शुन्य परिणाम
एकान्तीक प्रेम
घडिको जस्तै गति

उपस्थितिका आकांक्षा जस्ता
  हालका लक्षण हुँदै लेख्दै जाउ कविता।

अन्त्यमा
इस्वर बल्लभका शब्द सापटी लिएर भन्छु-
लेख्नु भन्दा माथि निरन्तरता ठुलो कुरा हो कविताको लागि,
अध्ययन ठुलो   कुरा हो कविताको लागि,
तिम्रो लगाव ठुलो कुरा हो कविताको लागि

म जस्ता पाठक पनि।