गीत-तिमीलाई सधैभरी

तिमीलाई सधैभरी दु:ख मात्रै दिएँ होला।
लाग्छ कतै दु:खै दिन म जन्मेको थिए होला।

प्यार थियो उपहार, त्यहाँ  अन्धकार देखेँ,
फुलै-फुल  पन्छाएर जतातहिँ काँडा रोपेँ,
कति मीठा आशाहरु थिए तिम्रो जिन्दगीमा,
तर सबै सोहोरेर  सेलाई दिएँ गण्डकीमा,

खोज्छौ होला माया मेरो सधैं दिन उदाउदा,
नभेटेर रुन्छौहोला गोधुलीले चियाउदा,
एउटा जनम त्यसै गयो अर्को जनम भेट भए,
बाचा गर्छु सधैं तिम्रो,गर्नेछु म जय-जय।

गीतीकबिता-कैले घाम उदाउने?

कैले घाम उदाउने?कैले शीत ओभाउने?
कैले खुशी उम्लिएर परेली यो भिजाउने?
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

भन्छन् रुप फेरी राख्नु बादलको नियम हो,
घामपानी बाढि पैरो खेल हो रे समयको,
अन्योल र अशान्ति कै राज देख्छु आज पनि,
भन्नेहरु भनिराख्छन रुने दिन गयो-गयो।

कसको मुख हेर्ने अब कसरी मन बुझाउने
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?


सपनाका गैरिखेत बगरमा सरेछन की,
परेविका दुतहरु अभरमा परेछन कि,
नमिल्नु नै देख्छु मैले मिल्ने एउटा सम्रचना,
बिहानीको सन्कल्प नै जहरमा गरेछन् कि।

यस्तो बेला कता जाने, कसरी दिन बिताउने,
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

कविता;-अब सुरुवात

अब सुरुवात

उसले चुपचाप हेरि,
उसले पनि हेरिरह्यो।

उ हाँसी,
उ पनि मुस्कुरायो।

उ बोली,
उसले पनि साथ् दियो।

अनी एक दिन उसले
आँखा जुधाइ,
आँखा?
जुधाएन, झुकायो।

र बिस्तारै नजिकिदै
उसले बेस्सरी चिमोटी
(मायाले हो कि) भित्रै सम्म चिमोटी,
उसले मुसुक्क हाँस्दै
घाऊ मुसारिरह्यो।
       ******
तर.........
सुनिन्छ  आजकल्
उ साथ् होईन शुरुवातको लागि माहिर छ।
   *************

गीत-मेरो बिचार

मेरो बिचार् अलग् छ,मेरो व्यबहार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।


देख्दिन मान्छेमा मान्छेको रंग,
पाउदिन फूल्मा म फूलको सुगन्ध,
म टेक्ने सुनौलो संघार छ,
नआउ बिथोल्न, संसार अलग् छ।




भिडन्तै-भिडन्तमा बसन्त खोज्ने,
पराया पिडामा उमंग देख्ने,
म मर्नु परे'नी त्यो स्वीकार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।

पिर नगर पहाड

पिर नगर पहाड,
म पनि छाती भरिको पहाडले,
पहाडै बनेकोछु तँ जस्तै।

तलाई खौरिएको प्राक्रितीकताले
दु:ख लाग्यो होला,
वन-वन डुल्ने म्रीगजोडी हराए होलान्,
ओठ जोडेर बस्ने ढुकुरहरु अत्तालीए होलान्,
हुनसक्छ-
राधाकृष्णका कथा
कथा मात्र भए होलान्,
हुनसक्छ-
ऐशेलु र काफलका बाहाना बिलाए होलान्,
उदाङो उपस्थितिमा मन रहेनहोला,
लाज लागेन होला दु:ख परिचय भयो होला,
तर पनि, भो पिर नगर पहाड-
म पनि छाती भरीको पहिरोले
पहिरो बनेको छु तँ जस्तै।

चट्याङको उज्यालो भ्रम,
हो की होइनको दोधारे बीगत,
छालले लुछुप्प रुझाएको पल,
बसन्तको नयाँ घुम्टो सिरेटो,
संगैको चन्चलता बस्तीसंगैको नयाँ परिचय,
उफ्! त्यो गूराँसे आनन्द,
ती सबै-सबै तेरो लागि कारण होलान आँशुका,
तर पनि पिर नगर पहाड-
म पनि छाती भरीको  खडेरीले
खडेरी बनेको छु तँ जस्तै।

जब तँ रुन्छस आँशु लुकाएर बर्सामा,
जब तँ रुन्छस पिर बगाएर खहरेमा,
जब तँ काप्छस पिडाका भुकम्पमा-
म छिया-छिया हुन्छु,
जब तँ आत्महत्या गर्न खोज्छस छाँगोबाट-
म मडारिन्छु बाढी बनेर
जब तँ कुहिरो बनेर बेमतलब डुलिरहन्छस-
म चिच्याउछु चट्याङ बनेर,
जब तँ सुसेल्छस सल्लेरिमा कथा-
म भुमरी बनेर छट्पटिन्छु,
जब तँ टोलाउछस
चुपचाप मध्यान्हमा,
म सहन सक्दिन तेरो मौनता
र उचालिन्छु ज्वालामुखी जस्तै,
बजारिन्छु छहरा जस्तै,
लछारिन्छु आँधिको रुख जस्तै,
भत्किन्छु सुनामि किनार जस्तै,
अनी टाउको ठोकेरआफ्नो भाग्य संगै
बिताउछु रात-
खाली आँखाहरुमा,
अनी यसै गरी बगाउछु दिन
मौन बार्ताहरुमा,
भो पिर नगर पहाड-
म पनि आँखा भरीको असारले,
असारै बनेकोछु तँ जस्तै।
     *************

"तिम्रो कविता"

एकान्त,
चक्रवर्ती किरण,
शुन्यतामा  सम्पुर्णता,
सम्पुर्णतामा  शुन्यता
अनी कतै-कतैको पेन्डुलम हुँदै
कसरी गरुँ चिरफार यो सन्जालको?

एक दिन
शान्त,
निर्मल र कंचन पोखरीमा
ढुङ्गा फाल्दा,
छल्किएको पानीले रुवाएको त्यो क्षण सम्झदै,
कल्पिरहेछु र
सहिरहेछु सोही पुनरागमन।

तिमी मोहन  कोइराला र
बैरागी काइँला हुँदै,
हुनसक्छ इश्वर बल्लभ र मोमिला  हुँदै,
तिनकै नवजात स्वरुप लिएर
मेरो दैलो उघार्न आएकी छौ,
म भने
गाइनेदाइका बिरह सम्झदै,
पधेर्निका खास्खुस ओकल्दै,
हुनसक्छ
पियारीका पियार फुकाउदै,
वा दिलमा देश् दुखाउदै,
तिम्रो आगमनको दैलो उघार्दैछु।

तिमी बेदका ऋचाहरु
'पूर्णस्य पूर्ण मादाय पूर्ण मेवा बस्यिस्यते'लाई
नेपालीकरण गर्दैछौ,
तिमी देबकोटाका
एकबाट एक झिके एकै बाँकी रहने दर्शनलाई पछ्याउदैछौ,
तिमी आधुनीक जीवनका चालहरु पेन्डुलममा दाज्दैछौ,
तिमी शुन्यता र गहिरो शुन्यतामा
तिमी एउटा शुन्य अस्तित्व खोज्दैछौ।

वास्तबमा हामी जतिसुकै उफ्रेपनी
जस्तो की 'भुपि' जस्तै उफ्रेपनी-
हामीले छुने शुन्य आकाश हो,
हामी जतिसुकै कराए पनि
सुनिने  खोक्रो मौनता हो,
हामी जतिसुकै हिंडेँपनी
पुगिने शुन्य प्रस्थान हो,
वा जिवनका हिसाब्-किताब
सबै शुन्यगत छन् र
तिमी पनि स्विकार्छेउ त्यहि शुन्य अस्तित्व।

तिमी सम्पुर्ण नारी स्वभाबहरु बोक्दै
मौन मनोबाद संगाल्दै,
कतै सेती जस्तै लुक्दै-लुक्दै, प्रेमिका झैं,
कतै गण्डकी जस्तै उर्लदै-उर्लदै,किशोरी झैं,
कतै कोशी जस्तै फैलदै-फैलदै,आमा झैं,
र कतै काली झैं सहदै-सहदै बुहारी झैं,
प्रत्येक खालि-खाली वा
डट्-डट् हरुमा
बिशाल समुद्री छालहरु बगाउदै
जान्छ्यौ बिशाल सागरमा
अर्को बिशालताका लागि
र सोच्दै पनि छु
अर्को बिलिनताका लागि
इस्वरीय  सत्ता स्विकारे झैं  गरी
वा हुनसक्छ पराधीन सिपाही झैं।

कतै लेख्नका लागि लेखिए झैं,
कतै लेखीनका लागि लेखिए झैं,
वा कतै अन्य प्रयोजनका लागि
लेखेका कबिताहरु
केही बिरल्-बिरल जस्ता शब्दहरु,
केही गहन-गहन जस्ता भाबहरु,
प्याज फोके जस्ता अस्तित्वहरु-
पानिका फोका जस्ता उपस्थितीहरु-
तासका महल जस्ता शालिनताहरु-
हात्तीका  बंगारा जस्ता शोभाहरु-
भत्काएर- यी सबै
परको ठोसमा
परिणत तिम्रा कबिता
मेरा लागि शिशिफसका परिश्रम जस्ता थिए।

म स्वरुप जस्तै सरल,
मन जस्तै तरल,
देबकोटा, भुपी र दिनेश अधिकारी हुँदै
श्रवण मुकारुङ सम्म आफ्ना सीमा तोक्दछु,
गोर्कि,प्रेमचन्द, टल्स्टाय हुँदै
धुर्बचन्द्र, दुर्गालाल र कालीप्रसाद तिर डोरिदैछु।
त्यसैले म भन्छु एउटा कथा र चित्र जस्तै
वा एउटा गीत र मनोबाद जस्तै,
जुन स्वभाबीक मानसबाट उम्रन्छ,
तिनै गोरेटो  समाउदै
जाउ तिमी पनि मान्छेको देखिने र हुने अस्तित्व तिर

सरल्-सरल भित्र नै बिरल भाब लिएर।

मलाइ लाग्छ,
मान्छे मुर्ती जस्तै पनि हो स्वरुपमा
तर भाब मान्छे जस्तै हुनुपर्छ सजीव र
मुर्त भित्र-भित्रै अमुर्त   वा
मुर्त- अमुर्तको  दोहोरो सम्रचना
जहाँ
कसैले देखोस् त्यो भाब भित्र आफ्नो भासा,
कसैले देखोस् त्यो चित्र भित्र आफ्नो चित्कार
त्यसैले कसैका लागि हुनुपर्छ तिमिले
कोहि हुन्छ  तिम्रो छायामा  शीतलता खोज्ने
कोहि हुन्छ तिम्रो उदयमा बिहानी देख्ने
किनकी तिमी पनि आज कवी बन्ने धुनमा छौ।

हुन त मेरै परिभासा दोभासे छन्
म कवी हुँदै सार्वजनिक भएपछी
सार्वजनिकिकरण तिर पनि जानुपर्छ
वा राजनितिक परिभासामा
रास्ट्रियकरण गर्नुपर्छ आफैलाई
तर जिउने आफ्नो जीवन हो
तैपनी यो मेरो शैलीको  वकालत पनि हुनसक्छ
आफ्नो ढाकछेप  पनि हुनसक्छ
र पनि यो मेरो ब्रम्ह हो
मेरो स्वरुप हो
र मेरो मान्यता पनि।

लेख्दालेख्दै लेख्दैछु
लेखिनु मूल होईन देखिनु मूल हो,
देखाउनु मूल होईन देख्नु मूल हो
र यो पनि थाहा छ-
जीवन शुत्रबाट चल्दैन-
यो पानीको धुर्वसत्य नियम जस्तै हो,
गती नियन्त्रित हुदैन-
यो हावाको  प्राक्रितिक नियन जस्तै हो,
शैली गणितिय हुदैन-
यो दिन-रात जस्तै स्वाभाबिक हो।

तिमी तिम्रा लेखाइमा उकेरा दिदै गर्दा
तिमीलाई तिम्रो स्पस्ट मनको संकेत मिल्ला
  तिम्रो स्वास्प्रस्वास  जस्तै  सहज लाग्ला
तिम्रो निन्द्रा जस्तै आनन्द होला
तर सम्झ
तिमिले कवितात्मक मुड दिदै गर्दा
एउटा पाठक
तिम्रो छेउ समाप्ती ढुकिरहेको हुन्छ।

देवकोटाले झैं भन्छु,
"कनिकुथी साहित्य लेखिदैन"
यो सलल बग्नुपर्छ नारायणी झैं
सबै सांध-सीमा भत्काएर
तिमी केही लुकाउने भन्दा माथि-
केही देखिने स्वरुप लिएर आउ
र च्यात
नारी अर्तर्मुखिता।

बैशालु बर्तमान,
अस्तित्वको खोज
शुन्य परिणाम
एकान्तीक प्रेम
घडिको जस्तै गति

उपस्थितिका आकांक्षा जस्ता
  हालका लक्षण हुँदै लेख्दै जाउ कविता।

अन्त्यमा
इस्वर बल्लभका शब्द सापटी लिएर भन्छु-
लेख्नु भन्दा माथि निरन्तरता ठुलो कुरा हो कविताको लागि,
अध्ययन ठुलो   कुरा हो कविताको लागि,
तिम्रो लगाव ठुलो कुरा हो कविताको लागि

म जस्ता पाठक पनि।

गीत-बाच्नै पर्ने जिन्दगी

बाच्नै पर्ने जिन्दगी यो बाँचेकोछु जेनतेन,
बाच्नु नै हो ठुलो भने अरु पो त गर्नु किन?

आकाशका ताराहरु टिप्छु भन्थ्यो कोहि-कोही,
कोही फेरी घाम जस्तै फुल्छु भन्थ्यो जहिँ-तहीँ
त्यस्ता सँग मेरो केही छैन हजुर लेनदेन,
बाच्नु नै हो ठुलो भने अरु पो त गर्नु किन?

मोटाउन खोज्छ कोही पराइको खुन चुसी,
कोही फेरी रित्याएर दिनुमा नै देख्छ खुशी,
मेरो माग्ने चिज छैन, न त सक्छु केही दिन
बाच्नु नै हो ठुलो भने अरु पो त गर्नु किन?

गीत-यती लामो जिन्दगानी।

यहाँ सम्म आउँदा पनि भएकोछु पानी-पानी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

यता पनि, उता पनि, अफ्ठ्यारो छ, अध्यारो छ,
तर पनि मन भरी हिंड्नुपर्ने चटारो छ,
कहाँ सम्म पुगिएला हिंड्ने बाटो छामि-छामी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

आँफै भन्दा अग्लो यहाँ पर्खाल छ नियमको,
मन त्यसै मरेकोछ, आदेश छ समयको,
आफ्नो बाटो, आफ्नो खुशी, नपाईने छानि-छानी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

कबिता-नजर उत्तरको दिसामा

नजर उत्तरको दिसामा

बिस्तारै शारदिय घाममा,
नदिको किनारमा बसी,
खुट्टा चोपलिरहेका प्रेमि-प्रेमिकाहरु,
चट्याङ्को गतिमा आएको ज्वाराभाटाबाट,
आलिङगन् र चुम्बन प्रकियासंगै,
जब दुबै निथ्रुक्क हुन्छन,
तब बिस्तारै कामिरहेको स्वरमा,
एक अर्कालाई हेर्न नसकी,
चुप्चाप मौन वार्ता गरिरहन्छन।

प्रेमी-
पुरुष स्वभाबसँगै नीर्णायक् बन्छ,
र अगाडि बद्छ,
प्रेमिका-
स्त्री स्वभाब्सँगै सहायक् बन्छे,
र स्विकार गर्छे।
प्रेमी-
स्खलनपछीको पछुताउ र थकानमा आफुलाई डुबाउछ।
प्रेमिका-
प्राप्ती र अशुरक्षाको पिडामा दोधार हुन्छे।
प्रेमी-
आफ्नो प्रेम संसारको निरन्तरताको लागि प्रार्थना गर्छ।
प्रेमिका-
पहिलो महिनाबारिको अनुभब्मा जस्तै छट्पटिन्छे।

नदिका किनारामा रमाइरहेका दर्शक मध्ये,
एउटी आमा र बच्चाको समुह,
आफ्नो प्रेम संसारमा मग्न हुन्छन,
मग्नतासंगै प्रेमि-प्रेमिकाको नक्कल गरेजस्तै,
हुनसक्छ प्रेमसन्सारका शैलीहरु जस्तै,
वा यो पनि हुनसक्छ प्रेमका दस्तखतहरु जस्तै,
बाचाहरु जस्तै,
स्वभाबीकताहरु जस्तै,
प्रमाणहरु जस्तै,
चरप्प छातीमा टाँसेर,
च्वाप्प गालामा म्वाँइ खान्छे आमा,
बच्चा बिस्तारै चन्चल हुन्छ,
दर्शकहरुले अनुभब गर्छन्-
त्यतिबेला,
सन्सारले पुज्ने शीबलिंगमा रातको शित ओभाएकै थिएन,
वा ओठ बिझाउने कुनै गुफामा कुनै राग अलापिएकै थिएन,
अथवा,
सबै यंत्रबत् थिए,
सबै यथाबत् थिए,
सबै निरन्तर थिए,
सो बेला
कुनै पहाडमा आरोहण भएको थिएन,
कुनै मैदानहरुलाई मुसारिएको थिएन,
कुनै गैरीखेत रोपाइको सपना थिएन,
कुनै नशालु आकांछा थिएन,

प्रेमी, आफ्नो प्रतिबिम्बमा आमा अनुभब गर्‍यो,
र सम्झ्यो त्यो मायाको हस्ताक्षर थियो,
त्यो सुदुर संसारको कल्पना थियो,
त्यो परमानन्दको झल्का थियो,
सह-स्वप्नको आराधाना थियो।
त्यतिबेलै
नदी किनारमा,
छालको लहरमा निस्फिक्री लहरिदै आएका
गुलाफका पत्तिहरुलाई,
बिस्तारै खेलाउदै,
सुम्सुम्याउदै,
प्रेमिकाले
अनन्त सागरका लागि छोडिदीइ,

प्रेमिले आफुहरु पनि गुलाबसंगै,
लहरमा हराएको सपना देख्यो,
अनी एक्चोटि फरक्क फर्केर
प्रेमिकाको अनुहार पढ्न खोज्यो,
उसको मुहार र अक्षरहरु केलाउन खोज्यो,
नारिबाद,
अपुरुशबाद,
गैर बासनाबाद,
अबिश्वासबाद,
र यस्तै बादहरुको गुज्मुजाहट्मा उसले,
प्रेम्बाद,
स्वाभाबिकबाद,
अनी
एक अर्काको खुशी नै आफ्नो खुशी हुने,
थोरै लचकता,
थोरै परार्थता,
थोरै बिलिनता,
थोरै त्याग,
खोट्याउन खोजिरह्यो,
पढ्न खोजिरह्यो,

मौन वार्तालाई निरन्तरता दीइरह्यो।

गीत-रामलिला सधैं भरी

सत्य सबै, घाम जस्तै, छर्लङै छ वरिपरि।
फेरी किन दुनियामा रामलिला सधैं भरी?

कोही भन्छन मेरै पेवा, हुनैपर्यो सगरमाथा,
कोही सृस्‍टि पूजा गर्छन्, ठुलो भन्छन् मानवता,
कर्णालि झै उर्लेपनी सुक्छौ चैत सुकेसरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

मात्र एउटा चन्द्रमा छ, ताँती लाग्ने हजार छन्,
आफ्नै मात्र नाम ठुलो, आफ्ना-आफ्ना बिचार छन्,
जिल्लिएकै हुन्छन् सबै, चिता माथि पुग्दाखेरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

गीत-घाम जस्तै उज्यालोले

घाम जस्तै उज्यालोले बित्छ मेरो दिन।
रात फेरी, सधैं भरी, हुन्छ कालो किन?

खुशी फुल्ने फूलबारी, अभरमा छ की,
निधारमा भिर मात्रै, लेखिएको हो कि,
सकेन यो जिन्दगीले, उभोमती लिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

जति गैह्रो खोँच हुन्छ, उती अग्लो शिर,
पहाडले कैले पनि, सुनाउदैन पिर,
भन्छन् सब्ले सक्नुपर्छ, सहि नजर दिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

गजल-मेरा कति रुपहरु

मेरा कति रुपहरु, मेरै कति नामहरु।
डर लाग्छ कति टिक्लान्, यस्ता छलछामहरु।

कानै थाक्यो, सुन्दा-सुन्दै, पाउ पर्न आएकोछु,
सक्दिन म सहि राख्न, अरु बदनामहरु।

थोपा जस्तै सागरका,उचालिन्छौं, आकासिन्छौं,
ब्यर्थ छन् है, बुझी राख,हाम्रा घुर्की शानहरु।

कुन्नी के-के छुने अरे, चन्द्र जस्तै हुने अरे,
मैले कस्तो बाटो रोजुँ, कर्दै बरदानहरु।

हर्ख थियो, बर्खा थियो, छुट्टै मिठो तिर्खा थियो,
सोधिरा'छु अब भने, अस्ताए त घामहरु।

म बस्दछु चुपचाप, उ गर्दछ राजकाज,
आफै लेख्छ, आफै पढ्छ, आफै खोज्छ खामहरु।

तिमी भन्छ्यौ 'खहरे'ले बगी कैले रित्तिदैन,
म'नी भन्छु कुनै दिन, थिए यस्तै यामहरु।

कबिता-"मेरो पट्टु "

"मेरो पट्टु "

पहीले,
धेरै पहीले,
मेरो पट्टु पिन्जडामा थियो।

सुन्दर पितले पिन्जडा,
सरर बतास चल्ने बैठके कोठा,
ऊसको बासस्थान थियो।

थरि-थरी बोल्ने,
रंगिचंगी पनि थियो पट्टु।
तर,धेरै दिन पिन्जडामा टिकेन,
भोकै बस्यो, भाँड गर्यो

रगताम्मे भएर पिन्जडा फोडेर निस्क्यो।
अनी स्वतन्त्र भएर,
बादल्-बादल, हावा हुरि, आधिबेहरि,
झरी र घामपानिमा खेल्न थाल्यो,
हिलाम्मे हुनु, चारो चोर्नु,
हुल जम्मा गर्नु
उसका नियमितता हुन थाले।

तर आजभोलि,
हो, आजभोलि
मेरो पट्टु पुराना दिन सम्झदै,
थोरै अघि बढेर,
खुल्ला पिन्जडा खोज्न थालेको छ।

गजल-आफ्नै दु:ख ठूलो देख्छु

आफ्नै दु:ख ठूलो देख्छु,आफ्नै घाऊ आलो।
म भित्र नै छ की कतै समस्याको जालो।

कुहिरोको काग जस्तै भुमरीमा छु म,
मर्छु-मर्छु, एकैचोटी देउन हास्ने पालो।

नियतीले हानिराख्छ दयाधर्म बिर्सी,
सक्तिन म बुद्ध बनी थापिराख्न गालो।

मन पग्ले भरिन्छु म,होईन भने खाली,
वाक्कै लाग्यो बन्दा-बन्दा भिखारीको डालो।

धन रै'छ जिवन साथी, समाज यो नाता,
दिदी छैन,किन आउथ्यो, आउन छाड्यो सालो।

'खहरे'को जिन्दगी यो सधैं रुनुपर्ने,
मेरो लागि औशी कालो,पुर्णे पनि कालो।

गीत-अब को नै छ र?

म कसरी फर्कुँ भन उही रित्तो घर,
तिमी थियौ सबै थियो अब को नै छ र?

टेक्ने एउटा हागो थियो समाउने डाली,
छैनौ आज भएकोछ मनै खालि-खाली,
टुहुरा छन् बाल बच्चा अधेरो छ घर,
तिमी थियौ सबै थियो अब को नै छ र,



खुशी थियो हासो थियो अब छैन केहि,
भारी जीवन जिएकोछु सधैं रोइ-रोइ,
बाच्छु भन्ने आशा थियो अब छैन भर,
तिमी थियौ सबै थियो अब को नै छ र?

गीत-बाँच्नैपर्ने जिन्दगी यो

रोई-रोई भएपनि बाँच्नैपर्ने जिन्दगी यो ।
धोई-धोई माटोलाई बग्नैपर्ने गण्डकी यो ।।

पाऊ भरी नेलकडी लगाएरै भएपनि,
परेलीका पर्दाहरु झुकाएरै भएपनि,
मनका यी पंखहरु दिमागमा अल्झाएर,
आफैलाई आफै भित्र लुकाएरै भएपनि,

हुनसक्छ परिभाषा गुमाएरै जिन्दगिको,
बग्नदेउ, बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।

आफैलाई दुई भाग लगाएरै भएपनि,
जानि-जानी निंदबाट जगाएरै भएपनि,
इच्छालाई सजायको जेल भित्र कैद गरी,
आँखा चिम्ली सिस्नोलाई समाएरै भएपनि,



हुनसक्छ नाँउ मात्र जोगाउन जिन्दगीको,
तिमीसंगै बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।

गीत-मानिसको जात।

रुदा रुदै हास्न सक्छ देखाएर दाँत,
हाँसी-हाँसी बाँच्न सक्छ सहि सारा घात,
सिधा-सिधा हेर्दाखेरी सिधै पनि लाग्छ,
बुझी कैले नसकिने मानिसको जात।

काडै-काडा बीच पनि हिडेकैछ मान्छे,
जस्तो अग्लो डाँडा पनि चढेकैछ मान्छे,
एक्लै-एक्लै एकान्तमा रुन पनि सक्ने,
आफै आफ्नो भुमरिमा गढेकैछ मान्छे।

उजेलिन्छ घाम जस्तै भएपनि रात,
बुझी कैले नसकिने मानिसको जात।



आबेगका सारा बाढी लुकाउन सक्छ,
आफैलाई उचालेर देखाउन सक्छ,
कैले फेरी पानी जस्तै बिर्सिएर सबै,
जस्तो भाडो उस्तै आफु बनाउन सक्छ।

कैले आफै फुल्छ पनि कैले हुन्छ पात,
बुझी कैले नसकिने मानिसको जात।

गीत-लगाएर पासो

कता जाउँ देख्दिन म जाने कुनै बाटो।
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

आशाहरु सुकाएर आफैलाई बेच्दैछु म,
पर्खालको बीच पनि कता जाने सोच्दैछु म,
पोखुँ भने पिरहरु उर्लिदिन्छ हाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

आज आइ आफ्ना जति पराइका मित्र भए,
सय थरी सपना सबै नबुझिने चित्र भए,
सुम्पिएर कसैलाई सपनाको नाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।

कबिता-एउटा खेलौना

एउटा खेलौना



हामी कहिले
समयको पासोमा आत्महत्या गर्दै
कृष्णको झन्डा बोक्दै हिड्यौं,
हुनसक्छ,
हेनरी ड्युना र नाइटिंगेलको हावा लागेर होला
बेनाम हरिश्चन्द्र बन्दैहिड्यौं
बेफ्वांक पानीको फुर्तिसँग दाँजिएर
वा शुन्य राजनीतिक भड्काउका पिछा गर्दै
वा पोथ्रा आदर्शको बुइ चढ्दै
ढुन्मुनियौ यसरी
जसरी चम्चा दौडमा गुच्चा ढुन्मुनिन्छ।
नियमका पर्खालहरु भत्काउदा
हात कातेर प्रेमिकाको प्रेम दर्साउने अभिमान बोक्यौं
बारीको बुख्याचा जस्तो
बतासको बेगमा नाचिरहदा
आफुमा नर्तकीको घमन्ड पाल्यौँ,
रमितेहरुको वा!वा! र तालिको गड्गडाहट्मा
हामी गौरवान्वित भयौँ,
कहिले ओशो, लेनिनका खहरे आदर्शहरुमा
निश्फिक्री बगिरह्यौ,बगिरह्यौ,
तर,
तर, कहिले सोचिएन
अह! कहिले सोचिएन
क्रमश क्रमश बिउँझीने नवक्षितिजहरु,
हिडिसकेका रोगी बाटोका उपचारहरु,
पाइतलामा उठेका फोराहरु,
वा लाज ढाक्दा लगाएका दर्शनहरु,


साच्चै!!कैले सोचिएन,
गुरु, आमा र परिवार
बरु सोचियो जिन्दगी एउटा खेलौना हो
देश एउटा मिठो ठट्टा हो।

कबिता-"मेरो कवित्व"

"मेरो कवित्व"



म हेरिरहेछु,
मेरा सन्तानको मुहार।

कुस्टरोग,पोलियो र एड्ससंगै,
भिन्न आश्थाका भिन्न रङहरु,
मेरा सपनाका सिँढी,
ढुक्क चढ्न सक्दिन बिस्वासमा
त्यसैले, मारिदेउ सन्तानहरु।
आज बाटो बढाउन खुम्चिए कुनै,
नाक जोगाउन उम्किए कुनै,
चिला हुन्छन् रे पात बलिया रुखका,
त्यसैले, अस्तित्व छैन मेरो,
न त भबिस्य नै छ सन्तानको
सपना फगत सपना हो
हुर्हुर दुन्केको पराले आगो
खरानिन्छ छीट्टै,
किनकी बैशमा सबै कवी हुन्छन्।

गीत-गरीबका गीत

गाइने दाइले गाउदै गए गरीबका गीत।
आफ्नो गीत सधैं भरी रह्यो आँफै सित।

कैले भन्छन् हार भयो, कैले भन्छन् जित भयो,
कैले भन्छन् दाजुभाईमा साँधी मिचामिच भयो,
आफ्नो भने कैले पनि नभएर जित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

कैले भन्छन् छानो टालौँ, कैले भन्छन् मानो भरौँ,
कैले मनमुटाब मिली झगडा छिनोफानो गरौँ,
सधैं भरी सबै सँग हुँदै भयभित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

गीत-अध्यारोको तुवालो

अध्यारोको तुवालो छ आँखा वरिपरि।
जिवनको रमाइलो टिपुँ कसो गरी।

आफ्ना मान्छे आस्वासन बाड्ने मात्र गर्छन्,
पराइ त झन् पराइ न हुन भाड्ने मात्र गर्छन्,
भुमरी मै हुन्छु कि म, पाउछु जान पारी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

मैले हास्न थालेँ भने कान थुन्छन मान्छेहरु,
कलेजि मै घाऊ लागे खुशी हुन्छन मान्छेहरु,
फेरिन्छ कि यस्तै हुन्छ मान्छे सधैं भरी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

गजल-म भक्त भए

बोलिको तिम्रो म भक्त भए।
के भनु प्यारी निसब्द भए।

कमल हौ तिमी हिलोमा फुल्ने,
म आफु देख्दा बिरक्त भए।

डुबेर तिम्रो भावनासँग,
म शब्द-सब्द बिभक्त भए।

त्यो म्रीदु प्याला पिउदै जादा ,
म काब्य भित्र ससक्त भए।

बोलिको तिम्रो म भक्त भए।
के भनुँ प्यारी निसब्द भए।

गीत-तिमीलाई देखेँ भने

तिमीलाई देखेँ भने जाने बाटो बिराउँछु।
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

आँखाभरी, ओठभरी यौबनको छाप चोखो,
जिउ भरी देखेपछी मिठो बैश बर्सिएको,
मात चद्छ अंग-अंग बेहोसिमा कराउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

सुन बीना, चाँदी बीना बेहुली झैं मन्डपकी,
अबोध र चन्चल छौ पानी सारी गण्डकीकी,
मैले बोले श्रिगार त्यो बिग्रिन्छ कि डराँउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

गजल-साह्रै बिरामी छु

जहाँ छोयो उहीँ दुख्छ साह्रै बिरामी छु।

तन जल्दा मन जल्यो पुरै खरानी छु।



कैकयि'नी हैन म त , कौसल्या नि हैन,

दुस्ट छोरा जन्माउने अती हरामी छु।



चिनाजानि पनि छैन, कुराकानी पनि छैन,

आँफैलाई चिन्दिन म सब्को बिरानी छु।



अरुलाई दु:ख हुन्छ, अर्को पाइला सुख हुन्छ,

कालो रात बितेपनी कालै बिहानी छु।



बग्दाबग्दै बगरमा हराउने 'खहरे' झैं ,

नपढ्दैमा धित मर्ने तितो कहानि छु।