पोखिएको पानी

सम्झिएको छु,
-घामले जब पहाडको मफलर भिरीसकेको थियो,
 हिड्नलाई,

 -रंगिन चराहरु पहेलो पृष्टभुमिमा बगिरहेका थिए,

 -त्यतिबेलै तिमीले,
 एक्लो ध्रुवतारा तिर हेरेर भनेकी थियौ,
 “संयोगको यात्रा, संयोगको यात्री,
 अचानक भेटिए झैँ अचानक हराउन के बेर?”

 तर मैले घाटीसम्म आएर पनि भन्न पाएको थिइन,
 “म त पानी हुँ, पानी,
जस्तो भाँडो, उस्तै आकार,
 तताए-बाफ,
 जमाए-बरफ,
जिस्काए-पानी,
 रोए-नुनिलो आँशु,
 र
अन्जुलीमा उभायौ भने-आफ्नै अनुहार,
 वा मान्यौ भने सिङ्गै जीवन पनि
 तर पोख्यौ भने, एउटा मात्र सम्झना l”

 र आज
 त्यहि बोल्न नपाएका बोलीहरु चपाउदै
 त्यहि एउटा सम्झना बाँचीरहेकोछु l