कथा :- आइसक्रिम जस्ता ओठ l



-“मैले त ब्रेक अप दिएँ नि l  
-“रियल्ली?”
-“अनि आजसम्म किन नभन्या त?”
-“आजै त द्या, अनि कैले भन्नु?”
उनीहरु आफ्नै तालमा थिए l  कलेजको क्यान्टिनमा सामान्य भिडभाड छ l

-“त्यहि भएर हिजो त्यस्तो साइको स्टाटस हान्या? तर लास्ट ह्यान्डसम थियो यार,तेरो बीएफl
-“तँ चक्कर चलाउछेस् त? मैले भन्दिउँ?”
-“सब् चिज तँ सक्काइस्, अब के खान चक्कर चलाउँ?”
क्यान्टिनको भाई “के खाने?” भनेर सोध्न दोस्रो पटक आइसक्योl  रचना,खुस्बु र म अघिदेखि क्यान्टिनमा छौं l

-“भन्न यार! सोनी तँ के खाने?” रचनाले मलाई सोधी l 
-“म नखाने केl  सन्चो छैनl  तिमीहरु खाओ न यार!”
मलाई केहि खाने मन थिएनl
-“ल भाई दुई ठाँउ फ्रेन्च फ्राई अनि एकछिन पछी बफ ससेसl ” भाई गयोl
उनीहरु फेरी त्यहि आफ्ना लंगुरहरुका कुरामा लाग्न थालेl  मलाई ती कुरामा त्यति रुची थिएनl
मेरो पेट अचानक गुटुर-गुटुर करायोl
“के भा’को तेरो पेट? भित्र त बेबी रुदैछ तl कति मन्थ भो?” रचनाले मलाई जिस्काउदै भनीl
“यो अनि बेबी? हेहेहे बेबी पनि हावाबाट पेटमा जाने हो र?” खुस्बुले खित्किदै हाँस्दै भनी “मैले त पिरियडको टाइम भा’कोले होला भन्या त!”
रचनाले उसकै मुडमा थपी “यस्तैले त भित्र-भित्र फुल पार्छन्,हेहेहे!”
-“ह्या जोक नगर् नl  बिस्तारै बोल् न यार तिमीहरुl  हिजोको भोजदेखि पेट बिग्रिएको छ केl  नेवारको जात्राले पनि मार्ने भो मलाईl
-“बाहुनले नेवारको भोज खाए पछी त्यस्तै होl
उनीहरु जोकिंग मुड मै थिएl मलाई प्राय भोजमा गएर आएपछि पेटमा समस्या आउँछl  साथीहरु लोकल छन्l  मासु र चिउरा मेरो पेटले थेग्दैनl
“ओई सोनी, ऐले हामीले खाने बेलामा रोटी नडढा हैl  मलाई त भमिट हुन्छl  छोड्दिने हो भने अहिले नै बाहिर जाl
********


हामी टियु म्यानेजमेन्ट डिपार्टको क्यान्टिनमा छौंl  भुकम्पले गर्दा कलेज धेरै पछि खुलेको छl

मेरो पेटको समस्या पहिले देखिको होl  बेला-बेला दुखिरहन्छl  म सानै देखि नै बर्त बसेकोले ड्याडीले सधै गाली गरिरहनु हुन्छl  पहिले मंगलबार, अहिले सोमबारl  कहिले एकादशी, कहिले केl  मम्मीले सानैमा सिका’कोले होला छोडीहाल्न मनले मान्दैनl  मामाघरमा सबैजना पण्डितl मामुलाई सबै बार र तिथिका महत्व थाहा छl  कुन दिन के गर्नु? कुन दिन के गर्नु? अनेक रटान लगाउनु हुन्छl  मलाई बिशेस रुची नभए पनि ती सबै कुरामा अभ्यस्त भएकी छुl  बफ खाँदा साह्रै अफ्ठ्यारो लाग्थ्योl  साथीहरुले अएला, छ्यांग सबै खान्छन्l मलाई भने बाहुनी “बज्यै” भनेर बिल्ला गर्छन्l

पेटले साह्रै दु:ख दिँदा यी सबै उट्पट्यांग छोडु झैँ हुन्छl  अब साङ्गे गर्ने सोचेकीछु तर त्यो दिन आएकै छैनl
*************


“ओई के गरी’रा?” खुस्बुले फोनमा सोधीl
“त्यत्तिकै बसी’रा?” मैले पढिरहेको भएपनि “पढेको” भनिनl  (यो जरुरत पनि थिएनl )
“अनि सुन् नl  आज मम्मीले भनेको, हाम्रो कलेजमा, कता हो, फ्री हेल्थ क्याम्प हुँदैछ रे निl  तँ जा नl ” उसलाई मेरो समस्या पहिले देखि नै थाहा थियोl
“कुन ठाउँ हो रे त?”
“त्यो त था भएन यारl  कसैलाई सोद् नl
“अनि के भन्या त? कुन ठाउँ हो,फिक्स गरेर फेरी कल् गर् मलाईl
“तँ बुझ् न ओl  मम्मिलाई पनि कुन ठाउँमा भन्ने फिक्स भएन रे क्याl
“ल लl ” फोन राखेंl
****************


भूकम्प पिडितलाई सघाउन बिभिन्न ठाउँबाट सहयोग आइरहेकाछन्l  त्यस्तैमा क्युबाका डाक्टरहरुको टीमले  पनि किर्तिपुरको नेसनल आयुर्बेद हस्पिटल तथा रिसर्च सेन्टरमा फ्री हेल्थ क्याम्प गरेको रहेछl  म पनि चेक अपको लागि गएँl  
बिरामीको घुइंचो थियोl  धेरैले थाहा पाइसकेछन्l
मेरो पालो आइसकेको थियो र म भित्र गएँl  
थुप्रै डाक्टरहरु थिएl  सबै कोठामा डाक्टर र नेपाली सहयोगी देखिन्थे तर म जाने कोठामा भने डाक्टर एक्लै थिएl

लामो अनुहार, ठिक्कका आँखा, केहि बांगीएको नाक भएको, फ्रेमलेस चस्मा लगाएको डाक्टरl  दाह्री र कपाल सेतै भएपनि तिस-पैतिसको देखिन्थ्योl
उसले एक पटक मलाई हेर्यो र पुनः हेर्यो, हेर्दा लगातार हेरिरह्योl  मलाई अफ्ठ्यारो लाग्योl  शरीरका सबै अंगको  नजरले एक्स रे गरेपछि उसले मुख खोल्योl  “क्यान यु स्पिक इन इंलिस?” मैले फिस्स ओठ फिजारेर “एस्” भनेl  
रोगको बारेमा सोध्योl  मैले सबै बताएँl
उसको टोन भने बिल्कुल फरक थियोl  न उसले खैरेले जस्तो बोल्थ्यो, न त कालेहरुले जस्तोl  
उसले आफ्नो देशको नाम नै “कुबा” भन्थ्यो, जबकी त्यो देशलाई हामी सधै “क्युबा” भन्थ्यौंl
जिब्रो देखाउन भन्यो,देखाएँl  आफैले मेरो गालामा हात राखेर बिस्तारै आखाँ चात्योl  जन्डिस लागेका रोगीलाई जस्तै नङ थिच्यो र कागजमा लेख्योl

मलाई अफ्ठ्यारो लागिरहेको थियोl  बेला-बेलामा दाँत पनि देखाउथ्योl  
लामो श्वास फेर्न भन्यो र कानमा स्टेथेस्कोप जोड्यो अनि मेरो ढाडमा डुलायोl
यी सबै गरिरहँदा मेरो व्यक्तिगत जीवनको बारेमा पनि सोधिरहेको थियोl  मैले सरासर बताइरहेंl
अब स्टेथेस्कोपलाई छाती तिर ल्यायोl
उफ्फ! चिसो स्टेथेस्कोपl  मलाई आच्छु-आच्छु बनायोl  तर यी सबै “आवस्यक प्रक्रिया” भनेर चुपचाप सहेंl

“अल्ट्रासाउण्ड पनि गर्नुपर्छ भोली पनि आऊl ” उसले भन्यो “यदि तिमीसंग समय छ भने मलाई हेल्प गर लl
“कस्तो हेल्प?”
“यहाँ आउने बिरामी राम्रोसंग इंग्लिस बोल्न जान्दैनन्, ल्यांग्वेज ट्रान्स्लेट गरिदेउ लl
मैले सोचें, उनीहरु हामीलाई सहयोग गर्न वहाँबाट आ’का छन्l  मैले पनि थोरै योगदान गर्न पाउँछु भने ठिक छ नि तl  
“हुन्छ, अवस्य पनि म हेल्प गर्छुl ” म बसें र आएका अन्य बिरामीका कुराहरु राखिदिएँl
उसले बेला-बेलामा मलाई हेर्दै फिस्स ओंठ च्यात्थ्योl


मलाई यसको अनुहार सानोमा फोटोमा देखेको फिडेल क्यास्ट्रो जस्तो लागिरहेको थियोl  हाम्रो घरमा कम्युनिस्ट माहोल थियो, त्यसैले दादा र ड्याडीले क्युबा र भेनेज्वेलाको नाम लिनुहुन्थ्योl  प्रशंसा गर्नुहुन्थ्योl म सोसलमा राम्रो बिद्यार्थी भा’कोले यस्ता प्रसंग ध्यान दिएर सुन्थें र कैलेकाहीं उहाँहरुले ल्याएको पत्रिका र किताब पढ्थेंl  त्यसैले मलाई क्युबा भन्ने शब्द नौलो थिएनl

बिरामी केहि कम हुँदै गएl  उसलाई कुरा गर्ने समय मिल्योl  उसलाई अफ्ठ्यारोमा परेको मान्छेहरुलाई सहयोग गर्न मनपर्ने कुरा बतायोl  भूकम्पको समयमा हाइटीमा गएको, २००१ मा जापान गएको अनि अफ्रिकन कन्ट्रीमा पनि हेल्प गर्न गएको कुरा गर्योl  म आफु पनि यस्ता कुरामा रुचि राख्ने हुँदा उसका कुरा मन पर्दै गएl

उ आँखा झिम्क्याएर बोल्थ्योl  काँध पनि तल-माथि बनाएर फुर्तिलोपन झल्काउथ्योl  तर कुनै-कुनै शब्द म बुझ्दिन थेंl  मोटो र गह्रुङ्गो जिब्रो बनाएर बोल्दा शब्द स्पस्ट हुँदैनथ्यो, तैपनि उसको त्यो फरक टोन आफैमा मिठो थियोl
बिरामी सकिएl

म घर फर्किन लागेंl  उसले अँगालो मारेर बिदा गर्न खोज्यो तर मलाई अफ्ठ्यारो लाग्योl  मैले टाढैबाट बाइ मात्र भनेंl  उसले फ्लाइंग् किस् दियोl  म लाज मानेर दौडिएl सोचें,उनीहरुको कल्चर होलाl

हस्पिटलको ढोकामा पुग्नै लाग्दा बोलायो र सोध्यो “तिमी ट्विटर, फेसबुक......... युज गर्छेउ?”(उसले अरु नाम पनि भनेको थियो तर बुझिन) मैले युज गर्छु भन्दै बच्चाले झैँ टाउको हल्लाएँ अनि उसले कागजमा आफ्नो फेसबुक युजर नेम दियो र एड गर्न भन्योl  
हिड्नै लाग्दा भन्यो “तिम्रा ओंठ आइसक्रिम जस्ता छन्l ” म के भनुँ? के भनुँ? भएँ र लाज मान्दै बाटो लागेंl

गेटसम्म पुग्नै पनि ढिलो भए जस्तो भोl  उसका नजरले पछाडीबाट घोंचे जस्तै भोl  हिड्नै अफ्ठ्यारो लाग्योl  पाइला लड़खडाउलान लागेl  जीउ नै कस्तो भारी भयोl  मनमा एकोहोरो त्यही शब्द गुन्जिरह्योl  किनकि यस्ता शब्द मैले पहिलो पटक सुन्दै थिएँl  गेटबाट क्रस भएपछी मात्र लामो श्वास फेरेंl  अघिसम्मको भारी जिउ अहिले फुरुंग र हल्का भोl  उफ् जिन्दगीमा पहिलो पटक नौलो अनुभब भएको थियोl

घरमा आएँl  छिटो-छिटो खाना खाएँl  छुट्टै स्वाद थियो खानामाl  फेसबुक खोलें र उसलाई रिक्वोस्ट पठाएँl  उसका फोटाहरु हेरेंl  

जिउ भरी ट्याटु खोपको रहेछl  ड्रयागन, क्रस र धेरै न्युड ट्याटु पनि थिए तर छातीको लेफ्ट साइडमा सानो गणेसको ट्याटु पनि थियोl  त्यसले मलाई लोभ्यायोl  कता-कता घुम्न गएका, देख्दै नदेखेका सिनरीहरु थिएl  समुन्द्रका किनारमा नांगै लम्पसार परेका युवायुवती, कतै ठुला-ठुला सपिंग मलमा डेडलक ग्रुपसंगका फोटा, तर धेरै सेल्फी नै थिएl  कमेन्ट र लाइक थुप्रै थिएl  तर ल्यांग्वेज भने नबुझिने थियोl  स्टाटस पनि खोइ के हो,बुझिदैन थ्योl  तैपनि हेरिरहेंl  कता-कता मनमा उसको छेउमा आफु भएको कल्पना आयोl  उसका फोटा जुम गरीगरी हेर्न मन लाग्योl  

उसले अंगालोका लागि फिजाएका हात सम्झिरहेंl  इस्टेथेस्कोपले सुम्सुमाएको ढाड र छाती सम्झिरहेंl
आफैलाई ऐनामा हेरें, आफ्नो ओठलाई जिब्रोले सुम्सुमाएँl

कस्ता ओठ आइसक्रिम जस्ता हुन्छन्? सोच्दैरहेंl  मेरा ओठ त्यस्ता ठुला पनि छैनन्,तल्लो ओठ केहि ठुलो अवस्य छl  तर कसरी यी ओठ आइसक्रिम भए? अचम्म लाग्योl

म कहिले पनि मेक अपमा ध्यान नदिने मान्छेl  सामान्य सन् ब्लक क्रिम मात्र लगाउछुl  अनुहार पनि गोरो छैनl  अहिले सम्म पार्लर गा’को छैनl  कहिलेकाही क्रिम लगाएँ भने मसिना रौँ झन् देखिन्छन् त्यसैले त्यो पनि लगाउदीनl  तर उसले म मा त्यस्तो के देख्यो? म आफै भित्र रुमलिन थालेँl


मैले कहिले पनि आइसक्रिमलाई ओंठसंग तुलना गरेको सुनेकी थिइनl ओंठ त पिपलपाते हुन्थेl सुन्तलाका केस्रा जस्ता हुन्थेl नेपाली साहित्यका बिम्ब,उपमा,अलंकार के-के भन्छन, त्यता मैले कहिले पनि यस्तो पढेकै थिइनl


र फेरी अर्को कुरा आइसक्रिमको प्रसंग मलाई त्यती मन पर्दैनl  एकदिन हामी महाबौद्धको एन्डीजमा खाजा खादैं थियौंl  मैले आइसक्रिम खाइरहेकी थिएँl  रचनाले म तिर हेर्दै भनी “ सोनिया,तैले आइसक्रिम खा’को देख्दा त मलाई अर्कै कुराको याद आयोl” सानो स्वरमा भनी  “मैले एकदिन दाइको रुममा सिडी भेटेको थिएँl  लगेर हेर्दा त तैले जस्तै गरी एक जना केटीले यस्तै गरेर आइसक्रिम (?) खाँदै थिइl

नजिकै शाकाहारी भोजनालय लेखेको होटल पनि थियो तर हाम्रो खाजा नन्भेज थियो र गफको प्रसंग पनिl  

त्यसपछि प्राय मलाई आइसक्रिम खान मन पर्दैन र अरुले खाएको देखे पनि त्यही प्रसंग सम्झिन्छुl
तर आज फरक प्रसंग थियो, आइसक्रिममाl
************


बिहान ८ बजे अल्ट्रासाउन्डको लागि बोलाएको थियोl  साह्रै दोमन भयोl  जाउँ कि नजाउँl  तैपनि रोग जस्तो कुरा, गएँ तर त्यहाँ सुनसान थियोl  डाक्टर थिएनन्l  गार्डलाई सोधेंl  उनले केहि भनेनन्l  पछी एकदुई जना बिदेशी देखेंl  उनीहरु चामल टेबलमा राखेर ढुङ्गा टिपिरहेका थिए र सोधेंl  उनीहरुले आज शनिबार, त्यहाँ कुनै नेपाली कर्मचारी नआउने भएकोले आज भक्तपुरमा हेल्थ क्याम्प रहेको र अल्ट्रासाउन्ड मेसिन पनि त्यतै लगेको जानकारी दिएl  म निराश हुँदै त्यहाँबाट निस्केंl  
सरासर गर्ल्स होस्टल गएँ र रचनालाई भेटेंl  उसले “हो र क्युबाका डाक्टर आ’का छन्? त्यसो भए त तिनीहरुलाई पट्याएर क्युबा छिर्न पर्यो अनि त्यतैबाट यु. एस्. ” भनीl  

मलाई अचम्म लाग्यो उसको कुराl  कति सजिलै लिन्छे यस्ता कुरालाईl  आफु भने हिजो देखि छटपटाइ रहेकी छुl  तर सबै कुरा उसलाई खोलिनl  यसले त भोली कलेज भरी बनाउछेl  त्यताबाट निस्कदैं गर्दा ऐना हेरेंl  आफ्नो ओँठ देखियोl  जिब्रोले मुसारेl  तर त्यहिँ माथि छ्यासमिस रौँहरु पनि थियोl  नमज्जा लाग्योl  

आज पार्लर जान मन लाग्योl  तर अहिलेसम्म गा’को छैनl  के भनेर जानु? घरमा के भन्नु?

घरमा फर्किदा नजिकैको छिमेकी आन्टीलाई देखेपछी मनमा पाप पलायो र भनें “आन्टी तपाई त आज कस्तो अर्कै देखिनु भा’को? पार्लर जानु भा’को छैन र?”

उहाँलाई फकाएं र लिएर पार्लर गएँl

घरमा पुग्दा सबैले थाहा पाए तर कस्तो राम्री देखिएको भनेर सब खुसी भएl  म पनि बाहिर जिस्काएकोमा रिसाए झैँ गरेपनि भित्र-भित्र खुसी थिएँl  ऐना हेर्दै रात बित्योl  आफैलाई चिन्न गाह्रो भैरहेको थियोl जति हेर्यो त्यति राम्री देखिए झैँ लाग्योl
उसको फेसबुक खोलेंl  केहि फोटो डाउनलोड गरें र मोबाइलमा सेकुरिटी कोड सेटिंग गरेंl
******


अर्को दिन हस्पिटल गएँl तर हिजो भक्तपुरमा बढी भिड भएर अल्ट्रासाउण्ड मेसिन उतै छोडेछन्l  डाक्टरको रुम तिर हेरेंl  उ त्यहाँ थिएनl  जतासुकै खोजें तर भेटिएनl
फर्किनै लाग्दा कसैले “सोनी” भन्दै बोलायोl  त्यो आवाज त्यही डाक्टर कै थियोl  लाज लाग्योl  
“तिमी असाध्यै राम्री देखिएकी छौl ” उसको मुखबाट सुन्दा म झन् पग्लिएँl
उसले आज बिरामी चेक नगर्ने बरु मसंग समय भए घुम्न जाने प्लान बनायोl  मलाई उसंग घुम्ने कुरा अफ्ठ्यारो लाग्यो तर स्वीकारेंl

हामी घुम्न निस्क्यौंl

“आइ लब यु,सोनीl
म झस्किएँ र उसलाई हेरेंl मुसुक्क हाँस्यो अनि हातमा रहेको सोनी कम्पनीको क्यामेराको लोगो देखायो र फेरी जोडले हाँस्योl
“सोनी, तिमी साह्रै राम्री देखिएकी छौl”
“होइन होलाl” (अरु कोहि भएको भए तिम्रो आखाँ नै राम्रो छ भन्थे,तर उसलाई भन्न सकिनl)
“म झुट बोल्छु जस्तो लाग्छ?”
“त्यस्तो त लाग्दैन,तैपनि l”
“मलाई तिमी आज ह्वाइट म्यारिपोज्या जस्तै लागिरहेको छ l तिम्रो सुगन्ध पनि त्यसकै परफ्युम जस्तोl”
“सरी? के भनेको त्यो?”
“ओह! तिमीलाई थाहा छैन,त्यो हाम्रो नेस्नल फ्लावर होl जुन साच्चिकै तिमी जस्तो सुन्दर हुन्छl”
म नजानी-नजानी लजाएँl किनकि मलाई थाहा थिएन त्यो कालो हुन्छ कि गोरो?
बाटोमा हिड्दै गर्दा खोइ के-के गीत गुनगुनाई रहन्थ्योl
मैले उसलाई बाघभैरब मन्दिर लगेंl उसले अचानक टुंडालमा नजर लग्यो र भन्योl
“वाट इज द्याट?”
म टाढा पुगिसकेकी थिएँ र अझै चिच्याएर सोध्यो “के हो त्यो?”
“आइ एम अन् न्वोनl” मैले जवाफ दिएँl
तर मलाई थाहा थियो, तिनको यथार्थl मैले तिनको इतिहास पढेकी थिएँl तर भन्न सकिनl
“साच्चिकै उत्कृस्ट कला l”
उसले फोटो लिंदै भन्योl 

र त्यसपछि उमामहेस्वर, गुम्बा,केहि भत्केका घर र खेतहरु डुलाएंl  केहि फोटो खिच्योl  संगै जोडिएर पनि खिच्न खोज्यो तर म नजिकिन सकिनl  मन भने कसो-कसो नजिकी सकेको थियोl  मैले नेपालको बारेमा बताएँl  हिजो राती गूगल गरेर क्युबाको बारेमा पनि जानकारी लिएकी थिएँl  राहुल क्यास्ट्रो, हवाना, क्यारेबियन सी l  ती सबै कुरा गरेंl

आफ्नो बिगतका कुरा सुनायोl भर्खरै एउटी केटीसंग ब्रेकअप भएको, तर अझै पनि माया लाग्ने गरेको र त्यो केटी म जस्तै भएको कुरा गर्योl सोसल वोर्क गर्दा कहिले भोकै भएको, कहिले आफै बिरामी भएको दु:ख पोख्योl

उसले विभिन्न देशमा गएर गरेका काम सुनायोl मलाई मनमनै सोचेंl “म पनि एकदिन यसै गरी हिड्नेछु, संसार भरl”

कुरा गर्दागर्दै दिन बित्योl  

मलाई बाटोमै घाँटी केहि तल सम्म आउने सानो माला किनेर दियो र भन्यो “म त्यहि वरिपरी हुनेछुl”
मैले पनि आँट गरेरै एउटा औंठी किनेर लगाईदिएँl
“म तिम्रो औंला सधै समाइरहेको हुनेछुl” गलासम्म आएको बोली घुटुक्क निलेंl भनिनंl
साँझपाख लहनामा लगेर खाजा ख्वाएँl  मिठो मान्दै खायो र छुट्टियौंl
***********


तेस्रो दिन गएर अल्ट्रासाउण्ड गरें र उसलाई रिपोर्ट देखाउन उसको रुममा गएँ तर उ त्यहाँ थिएनl  सोध्दा आज ऊ भक्तपुरको क्याम्पमा गएको थाहा भोl
म घर फर्केl उसको फेसबुक र फोटा हेर्दै दिन बिताएँl
****


लगातार ४ दिनसम्म गएँ तर भेट भएनl  ऊ भक्तपुर क्याम्प मै गएको जानकारी आयोl उ बस्ने कोठा तिर गएँl उ बसेको कुर्ची हेरें,खाली थियोl कताकता लाग्यो, मेरो मन पनि त्यो कोठा झैँ शुन्य भएकोछl

अर्को मनले सोचें,त्यो मनको खाली कुर्चीमा त्यहि मान्छे बस्नेछl
 कतिखेर आफ्ना भावना देखेर दंग हुन्थेंl कहाँको मान्छे? कस्तो मान्छे? केहि थाहा छैनl न भाषा,न संस्कृती?
तर मनमा कुनै फिल्मको डाइलग आउंथ्यो “प्रेममा यी सब जायज छन्l”
*****


शुक्रबार भैसकेको थियोl  रोग त थियो नै, उसलाई भेट्ने चाहनाले पनि म दिनहुँ हस्पिटल गैरहेंl


रिपोर्ट लिएर सरासर उसको रुममा जादैँ थिएँl  बाहिर भिड थियोl  म ढोकाको छेउमा उभिएँl  म भन्दा अगाडी दुई जना बुढाबुढी र एकजना हेल्मेट लगाएकी केटी थिइl  हरियो र पुरानो साडी लगाएकी बुढी मान्छे ५० काटे जस्ती देखिन्थिन्l  हातमा सानो छाता पनि थियोl  निधारमा केहि गहिरो खत थियोl  बुढा मान्छे भने उनकै श्रीमान होलान् भन्ने अनुमान गर्न सकिन्थ्योl  नेवार थिए किनकि नेवारी भाषामा बोलिरहेका थिएl चप्पल लगाएका उनीहरुका पैतला पटपटी फुटेका थिएl केहि मैलो इस्टकोट र सुरुवाल लगाएका उनी, हात दुखे जस्तो गरेका थिएl  एक हातले अर्को हातलाई समाएका उनले हातमा अन्य हस्पिटलका कागज पनि बोकेका थिएl  तिनीहरु भन्दा अगाडी सलले कपाल र नाकमुख छोपेर आँखा मात्र देखाएकी केटी थिइ अनि टाउकोमा हेल्मेट लगाएकी केटी थिइl  छाती भने तलै सम्म खुला थियोl  एउटा हातमा गगल्स समाएकी थिइ भने अर्को हातमा बाइकको चाबी हल्लाई रहेकी थिइl  हेर्दा त्यस्तो बिरामी नदेखिने उ, कतिखेर मोबाइल चलाउथी भने कतिखेर शरीरका लुगा मिलाउथीl  फोनमा उसले अरु कसैसंग भनेअनुसार उ भक्तपुरबाट आएकी थिइl  आज उसले रिपोर्ट देखाउनु पर्ने थियोl  

केटीको पालो आयो र भित्र छिरीl  क्रमैसंग सबैको पालो आउदै थियो तर केटी भित्र छिरेको धेरै समय हुँदा पनि बाहिर निस्किनl  ढोकाको नजिकै गएँl  मलाई डाक्टरको अनुहार पनि कतिखेर देखौं जस्तो भएको थियोl  बिस्तारै ढोकाको चेपबाट हेरेंl

म झसंग भएँl  केटी निस्कन लाग्दै थिइl डाक्टरले केटीलाई अँगालो मार्योl गालामा किस् गर्यो,उसले पनि फर्काइl  यो क्रिया ओंठ तिर सर्योl  क्रमशः.......  मलाई रिंगटा चल्ला जस्तो भोl  बिस्तारै सम्हालिएर हेरेंl  दुबैले गाला जोडेर फोटो लिएl  फेरी दुबै अंगालोमा बेरिएl  अनि भोली भक्तपुरमा भेट्ने बाचा गरेl  केटीले डाक्टरलाई पेटमा चिमोटी र कोठाबाट निस्कन लागीl

मैले उसको अनुहार देख्न सकिनl

उस भन्दा छिट्टै त्यहाँबाट निस्कन पाइला बढाएँl
जमिनमा फेरी भूकम्प गए जस्तो महसुस भयोl  जताततै कालो देख्न थालेंl  मनमा हुरी चले जस्तो भोl  खुट्टा काप्न थालेl  शरीरमा लामो-लामो श्वास चल्योl  जतिसक्दो लामा पाइला चालेंl
त्यसै-त्यसै गर्मी भएर आयोl
आँखा आइसक्रिम जस्तै पग्लिएl

तर मनमा गुन्जिरह्योl  
“तिम्रा आइसक्रिम जस्ता ओंठ l

**************

©भण्डारी खहरे