गीत-यती लामो जिन्दगानी।

यहाँ सम्म आउँदा पनि भएकोछु पानी-पानी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

यता पनि, उता पनि, अफ्ठ्यारो छ, अध्यारो छ,
तर पनि मन भरी हिंड्नुपर्ने चटारो छ,
कहाँ सम्म पुगिएला हिंड्ने बाटो छामि-छामी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

आँफै भन्दा अग्लो यहाँ पर्खाल छ नियमको,
मन त्यसै मरेकोछ, आदेश छ समयको,
आफ्नो बाटो, आफ्नो खुशी, नपाईने छानि-छानी,
कसो गरी बिताउने यती लामो जिन्दगानी।

कबिता-नजर उत्तरको दिसामा

नजर उत्तरको दिसामा

बिस्तारै शारदिय घाममा,
नदिको किनारमा बसी,
खुट्टा चोपलिरहेका प्रेमि-प्रेमिकाहरु,
चट्याङ्को गतिमा आएको ज्वाराभाटाबाट,
आलिङगन् र चुम्बन प्रकियासंगै,
जब दुबै निथ्रुक्क हुन्छन,
तब बिस्तारै कामिरहेको स्वरमा,
एक अर्कालाई हेर्न नसकी,
चुप्चाप मौन वार्ता गरिरहन्छन।

प्रेमी-
पुरुष स्वभाबसँगै नीर्णायक् बन्छ,
र अगाडि बद्छ,
प्रेमिका-
स्त्री स्वभाब्सँगै सहायक् बन्छे,
र स्विकार गर्छे।
प्रेमी-
स्खलनपछीको पछुताउ र थकानमा आफुलाई डुबाउछ।
प्रेमिका-
प्राप्ती र अशुरक्षाको पिडामा दोधार हुन्छे।
प्रेमी-
आफ्नो प्रेम संसारको निरन्तरताको लागि प्रार्थना गर्छ।
प्रेमिका-
पहिलो महिनाबारिको अनुभब्मा जस्तै छट्पटिन्छे।

नदिका किनारामा रमाइरहेका दर्शक मध्ये,
एउटी आमा र बच्चाको समुह,
आफ्नो प्रेम संसारमा मग्न हुन्छन,
मग्नतासंगै प्रेमि-प्रेमिकाको नक्कल गरेजस्तै,
हुनसक्छ प्रेमसन्सारका शैलीहरु जस्तै,
वा यो पनि हुनसक्छ प्रेमका दस्तखतहरु जस्तै,
बाचाहरु जस्तै,
स्वभाबीकताहरु जस्तै,
प्रमाणहरु जस्तै,
चरप्प छातीमा टाँसेर,
च्वाप्प गालामा म्वाँइ खान्छे आमा,
बच्चा बिस्तारै चन्चल हुन्छ,
दर्शकहरुले अनुभब गर्छन्-
त्यतिबेला,
सन्सारले पुज्ने शीबलिंगमा रातको शित ओभाएकै थिएन,
वा ओठ बिझाउने कुनै गुफामा कुनै राग अलापिएकै थिएन,
अथवा,
सबै यंत्रबत् थिए,
सबै यथाबत् थिए,
सबै निरन्तर थिए,
सो बेला
कुनै पहाडमा आरोहण भएको थिएन,
कुनै मैदानहरुलाई मुसारिएको थिएन,
कुनै गैरीखेत रोपाइको सपना थिएन,
कुनै नशालु आकांछा थिएन,

प्रेमी, आफ्नो प्रतिबिम्बमा आमा अनुभब गर्‍यो,
र सम्झ्यो त्यो मायाको हस्ताक्षर थियो,
त्यो सुदुर संसारको कल्पना थियो,
त्यो परमानन्दको झल्का थियो,
सह-स्वप्नको आराधाना थियो।
त्यतिबेलै
नदी किनारमा,
छालको लहरमा निस्फिक्री लहरिदै आएका
गुलाफका पत्तिहरुलाई,
बिस्तारै खेलाउदै,
सुम्सुम्याउदै,
प्रेमिकाले
अनन्त सागरका लागि छोडिदीइ,

प्रेमिले आफुहरु पनि गुलाबसंगै,
लहरमा हराएको सपना देख्यो,
अनी एक्चोटि फरक्क फर्केर
प्रेमिकाको अनुहार पढ्न खोज्यो,
उसको मुहार र अक्षरहरु केलाउन खोज्यो,
नारिबाद,
अपुरुशबाद,
गैर बासनाबाद,
अबिश्वासबाद,
र यस्तै बादहरुको गुज्मुजाहट्मा उसले,
प्रेम्बाद,
स्वाभाबिकबाद,
अनी
एक अर्काको खुशी नै आफ्नो खुशी हुने,
थोरै लचकता,
थोरै परार्थता,
थोरै बिलिनता,
थोरै त्याग,
खोट्याउन खोजिरह्यो,
पढ्न खोजिरह्यो,

मौन वार्तालाई निरन्तरता दीइरह्यो।

गीत-रामलिला सधैं भरी

सत्य सबै, घाम जस्तै, छर्लङै छ वरिपरि।
फेरी किन दुनियामा रामलिला सधैं भरी?

कोही भन्छन मेरै पेवा, हुनैपर्यो सगरमाथा,
कोही सृस्‍टि पूजा गर्छन्, ठुलो भन्छन् मानवता,
कर्णालि झै उर्लेपनी सुक्छौ चैत सुकेसरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

मात्र एउटा चन्द्रमा छ, ताँती लाग्ने हजार छन्,
आफ्नै मात्र नाम ठुलो, आफ्ना-आफ्ना बिचार छन्,
जिल्लिएकै हुन्छन् सबै, चिता माथि पुग्दाखेरि,
फेरी किन दुनियामा रामलिला सधैं भरी?

गीत-घाम जस्तै उज्यालोले

घाम जस्तै उज्यालोले बित्छ मेरो दिन।
रात फेरी, सधैं भरी, हुन्छ कालो किन?

खुशी फुल्ने फूलबारी, अभरमा छ की,
निधारमा भिर मात्रै, लेखिएको हो कि,
सकेन यो जिन्दगीले, उभोमती लिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

जति गैह्रो खोँच हुन्छ, उती अग्लो शिर,
पहाडले कैले पनि, सुनाउदैन पिर,
भन्छन् सब्ले सक्नुपर्छ, सहि नजर दिन,
रात मेरो, सधैं भरी, हुन्छ कालो किन?

गजल-मेरा कति रुपहरु

मेरा कति रुपहरु, मेरै कति नामहरु।
डर लाग्छ कति टिक्लान्, यस्ता छलछामहरु।

कानै थाक्यो, सुन्दा-सुन्दै, पाउ पर्न आएकोछु,
सक्दिन म सहि राख्न, अरु बदनामहरु।

थोपा जस्तै सागरका,उचालिन्छौं, आकासिन्छौं,
ब्यर्थ छन् है, बुझी राख,हाम्रा घुर्की शानहरु।

कुन्नी के-के छुने अरे, चन्द्र जस्तै हुने अरे,
मैले कस्तो बाटो रोजुँ, कर्दै बरदानहरु।

हर्ख थियो, बर्खा थियो, छुट्टै मिठो तिर्खा थियो,
सोधिरा'छु अब भने, अस्ताए त घामहरु।

म बस्दछु चुपचाप, उ गर्दछ राजकाज,
आफै लेख्छ, आफै पढ्छ, आफै खोज्छ खामहरु।

तिमी भन्छ्यौ 'खहरे'ले बगी कैले रित्तिदैन,
म'नी भन्छु कुनै दिन, थिए यस्तै यामहरु।