भासण गरीरहेको मान्छेसंग l


मेरी आमालाई लछारपछार गर्नेले,
जतिसुकै गाला बजाए पनि,
वा चिप्ला भासण गरेपनि,
म कसरी ताली बजाउँ?
भन्छन् मान्छेहरु,
ऊ ‘ठुलै मान्छे’ भएकोछ,
वा ठुलै मान्छे बन्ने लाइनमा छ l
तर हिजो जसरी आमालाई,
बोक्सिनी नाममा आची खुवाएर गयो,
बिरामी हुँदा “खेलाँची” भनेर गयो l
-जसले गाउँ-गाउँमा आमाको नचाइदो बद्ख्वाई गर्दै हिड्छ,
उनकै अनुहार जोडेर दिल्लगी गर्छ,
-जसले गुन्यु चोली मैले जडौरी दिएको भन्छ,
वा उनको शान र इज्जत मैले थामिदिएको भन्छ
-जसले कानका मडौरी र नाकको बुलाकी मेरै हो भन्दै चिच्याउछ,
अनि त्यसले,
जतिसुकै राम्रो भासण गरेपनि
यो गाउँको दोखालोको थानमा मन्दिर बनाइदिन्छु भने पनि,
सबैको घरको, खरको छाना, टिनको बनाइदिन्छु भनेपनि
वा मझेरी मै धारो जोडीदिन्छु भनेपनि,
म कसरी उसको बिश्वास गरूँ र ताली बजाउँ?
ऊसले त पहिले सित्तैमा नुन खुवाउछ,
अनि पानीको धारा बन्द गरिदिन्छ,
उसले त हिड्न बाटो बनाइदिन्छ,
अनि खुट्टा भाचिदिन्छ l
म त उ बोलिरहेको माइकको लर्कटो नबजोस् भन्छु,
उभिएको जीमिन भासियोस् भन्छु,
चिच्याई रहेको बोली बसोस् भन्छु,
वा भर्खरै रिंगटा लागोस् र ऊ ढलोस् भन्छु l
उसले जस्तो सुकै गीत गाओस्,
कम्मर मर्काओस्,
वा कविता सुनाएर
गाम्लेलाई गद्गद् बनाओस्,
म कसरी मेरो रगतमै बसेको बिगतलाई भुल्न सक्छु र?
म कसरी ओठसम्म आएका बोलीहरु निल्न सक्छु र?
मैले ताली बजाउन त रगत उम्लिनु पर्यो नि खुसीले,
हात जोडिनु पर्यो नी आशाले,
अहँ, जोडिदैन कसैगरी l
म भोकै बसेका दिन बिर्सेर, अहिले कसरी अघाउं?
म जाडोले झन्डै मरेका रातमा, कसरी जीवन भरुं?
तर
तर म त उसलाई कहिल्यै मेरो जस्तो होस् भन्दिन l
मेरो जस्तै रुदाँरुदै आशुको मुहान सुकोस् भन्दिन,
उसको घाममा कसैले लगाम नलगाओस्,
उसको जुन कहिल्यै ननिदाओस् l
बस् यहि इच्छा छ,
मेरो गाउँको बुद्ध मेरै होस्,
मेरो बिश्वासको सगरमाथा मेरै होस्,
गाउँमा शान्ति होस्,
शिर हिमाल झैँ अग्लियोस् ll

२०७२/१२/१८ ८:३०

केहि मुक्तकहरु..

प्रेम पनि यति नृशंश हुन्छ त, कस्को के लाग्छ?
सबै परिवर्तनमा ध्वंश हुन्छ त, कस्को के लाग्छ?
आफै चनाखो हुनुको बिकल्प छैन,
प्रत्येक कृष्णमा कंश हुन्छ त,कस्को के लाग्छ?

गर्दै कुर्ची-भक्ति, गयो दिन मेरो।
खादै हप्कीदप्की, गयो दिन मेरो।
त्रास बोकी,प्यास बोकी,भक्कानोमा श्वास रोकि,
बिना उपलब्धी, गयो दिन मेरो।

बालगीत


हास्दै, खेल्दै, रमाउदै, पढ्न पाउनुपर्छ।
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।
अवसर पायौं भने, गगन छुन सक्छौं,
अमरसिंह, बलभद्र जस्तै हुन सक्छौं,
चरा जस्तै फैलिएर, जिउन पाउनुपर्छ,
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।
विश्व भरि यो देशको, नाम चिनाउने,
बुद्ध जस्तै बन्न सक्छौं, शान्ति फिजाउने,
हाम्रो सपना हामी आफै, देख्न पाउनुपर्छ,
सफलताको सगरमाथा चढ्न पाउनुपर्छ।
हास्दै, खेल्दै, रमाउदै, पढ्न पाउनुपर्छ।
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।

बालगीत प्रतियोगिता-२०७३ मा  "उत्कृस्ट शब्द-रचना"को पुरस्कार प्राप्त  l

मरो घाम


मरो घाम,

मेरो घाम, 
-जसले मलाई तुषारोमा आगो दिन्थ्यो,
मेरो उज्यालो, 
-जसले मलाई अध्यारोमा आँखा दिन्थ्यो,
अब घामै बनेर आकाशमा बसाई सरेकोछ ।

कसरी उक्ल्यो होला,
मुरली बजाउदै,
त्यो अजंगको पहाड?
भन्ज्याँगको उकालो र
देउरालीको सिरेटो,
कसरी सह्यो होला?
कलकत्ता जाने रेलका झ्यालमा,
फिरफिर-फिरफिर बालक घाम,
कस्तो देखिन्थ्यो होला?
मद्रासका कम्पनीमा,
कसरी बिउझिन्थ्यो होला बहादुर घाम?
बम्बईका घरखाता र क्यान्टिनमा,
समोसा पाकिरहेको कराईमा नाचिरहेको घाम,
वा
कुबेतको रेतमा तातिरहेको घाम,
कस्तो देखिन्यो होला?

बादलको
निस्सासिँदो र अफ्ठ्यारो बाटो छिचोलेर,
मलाई बिहान बिउझ्याँउन आउथ्यो

मेरो नाक र निधारमा छोएर जिस्किन्थ्यो।

चैत बैसाखमा तातेर उधुम हुन्थ्यो,
तर आँकुरा उमारेर
मलाई शितल दिन्थ्यो,
साउनमा आफै तताएर पानी
बादल बनेर नुहाइदिन्थ्यो,
शरदको प्यारो र पारिलो घाम
पर्व र जाडोका कपडा,
उपहार लिएर आउथ्यो।

जुनले भनेको सम्झन्छु-
"घाम मेरो सर्वस्व हो,
घाम नै मेरो अस्तित्व हो।"
सोध्नै पाइन,
घाम र जुनका पिरतिका कथा।

मरो घाम,
मेरो उज्यालो,
अब घामै बनेर आकाशमा बसाई सरेकोछ ।

सम्झना


कहाँ जान सिंगारिएका छन् होला?
यी घरहरु?

कहाँ जान लामबद्ध छन् होला,
यी पहाडहरु?
कहाँ जान्छन् होला
मेरो आँखाबाट बगेर यी नदीहरु?
टिलपिल तारा र जुनहरु
कहाँ जान्छन् होला??
बादल,घाम,चरा र आफन्तहरु
कहाँ जान्छन् होला??
तर
तर, सबै नियम तोडेर
किन आउँदा हुन्??
यी नकचरा सम्झनाहरु।