हिउको गुफा भित्र

अँध्याराहरुले पटक-पटक 
घुम्टो ओढाउन खोज्छन, 
-ताराहरुलाई सीतारा भनेर,
-जुनलाई सजावट भनेर,
दिनका बैगुनहरु बिछ्याउछन्,
घाममा हत्केला लगाउछन्,
आफ्ना नदेखिएका कोठीहरू वा घुचुकहरु
काखी र कापहरुमा अत्तर छर्किन्छन्,
यी नाकका फुली जस्तै भनिने,
- टल्कीरहने
जुनकिरीहरुलाई हेरेर
म कसरी कटाउन सकुँला र रात?
तर
यो निदाउनै नसकेको सपना बोकेर म,
घामका किरण समाएर,
चैत हटाएर पात्रोबाट साउन कुरिरहेको छु l
*****

चुनाब

हरेक जाडोमा,
सिरेटोले चिसिएको बस्ती भित्र,
केहि हुल आगोका झिल्काहरु, 
- उठ्छन, हिड्छन् र चिच्याउछन्
तर
यथार्थ थाहा नपाउदा-नपाउदै
झिल्काहरु, धुवाँहरुसंगै शहिद हुन्छन्,
-हाम्रा सपना, आशा र भरोसाहरु जस्तै I

पोखिएको पानी

सम्झिएको छु,
-घामले जब पहाडको मफलर भिरीसकेको थियो,
 हिड्नलाई,

 -रंगिन चराहरु पहेलो पृष्टभुमिमा बगिरहेका थिए,

 -त्यतिबेलै तिमीले,
 एक्लो ध्रुवतारा तिर हेरेर भनेकी थियौ,
 “संयोगको यात्रा, संयोगको यात्री,
 अचानक भेटिए झैँ अचानक हराउन के बेर?”

 तर मैले घाटीसम्म आएर पनि भन्न पाएको थिइन,
 “म त पानी हुँ, पानी,
जस्तो भाँडो, उस्तै आकार,
 तताए-बाफ,
 जमाए-बरफ,
जिस्काए-पानी,
 रोए-नुनिलो आँशु,
 र
अन्जुलीमा उभायौ भने-आफ्नै अनुहार,
 वा मान्यौ भने सिङ्गै जीवन पनि
 तर पोख्यौ भने, एउटा मात्र सम्झना l”

 र आज
 त्यहि बोल्न नपाएका बोलीहरु चपाउदै
 त्यहि एउटा सम्झना बाँचीरहेकोछु l

म बेबकुफ


मेरो नजर जहाँ ठोकिएको थियो,
मेरो नजर जहाँ ठोकिएको थियो,
त्यहाँ अरु केहि थिएन,
थियो त केवल, मरन्च्याँसे र पिलन्धरे मेरो अनुहार,
जसलाई बीच पारेर
मान्छेहरु डार्ट खेलिरहेका थिए।
जब मेरो नाक बाङ्गिन्थ्यो तिरले,
मान्छेहरु खुसीले भुइँमा लडिबुडी गर्थे,
चिच्याउथे र चियर्स गर्थे।
जब मेरो आँखा फुट्दथ्यो र कालो हुन्थ्यो,
मान्छेहरु अङ्गालो मार्थे र बुरुक्क उफ्रन्थे जोडले।
जब मेरो कान वा निधार तिर,
तिर छेडीन्थ्यो,
उनीहरु विजयोत्सव मनाउथे,ताली पिट्थे,
छाती फुलाउथे र सजिलो आसन बस्थे।
त्यतिबेलै,
हो!ठिक त्यतिबेलै,
म बेबकुफ,मेरो चेतना र प्रतिष्ठा माथिको प्रहार सम्झेर,
आवाज र कुरूपताको उपहास सम्झेर,
कविता लेख्न बस्थे,चित्र कोर्न बस्थे।
ठिक त्यतिबेला,
जतिबेला मान्छेहरु डार्ट खेलिरहेका थिए।
*********************




‘प्रोल्लास सिन्धुलीयको कविता


आमा, 
के ले हानिरहेकोछ,
मुटुमा यसरी जोडले ढ्वाक- ढ्वाक?
यसरी त मैले,
तिमीलाई गर्भमा हुँदा पनि हानेको थिइन ,
यसरी त बाबुले खोकेको पनि जानेको थिइन l
तिमीले थ्यात-थ्यात सिलौटोमा,
टमाटरको चटनी बनाउदाको आवाज,
वा बाबुले ठ्याक-ठ्याक बन्चराले मुढा चिर्दाको आवाज,
अहँ हुँदै होइन यो l
यो के को अवाज हो आमा?
तिमीले बगरमा गिट्टी कुट्दा त,
पानीले भित्र-भित्रै,
हाम्रा सपना जस्तै बगाउदै गरेको,
बालुवाको स्वर पनि मिसिएको हुन्थ्यो l
तिमीले मैलो पसिना बेचेर किनेको,
मेरो अनुहार जस्तो सेतो कापीमा,
रातो मसिले ‘काट्टा’ लगाइदिने,
गुरु हिड्दा पनि यस्तो सुनिदैन थियो l
वा हाम्रो प्रार्थना देउतासम्म पुग्न नदिने,
मन्दिरको ढ्वांग-ढ्वांग घन्टी,
वा तिम्रो तल्लो पेटको रोग जस्तो,
कुटुकुटु दुखिरहने ठोक्ठोके चराको आवाज,
वा बिहानै हाम्रा अफ्यारा जस्तै बिउझाउन आउने,
ढिकीको ढकार्ल्याक ढ्याक- ढकार्ल्याक ढ्याक l
अहँ हुँदै होइन यो l
के हो आमा?
के हो यो?
के ले हानिरहेकोछ,
मुटुमा यसरी जोडले ढ्वाक- ढ्वाक?
के हो त यो?
म शहरमा एक्लै बसेको पश्चाताप?
वा
प्रोल्लास सिन्धुलीयको कविताको प्रभाब?
********
३१/०३/२०१६/ बिहान १०:०० बजे