के सहेनौं हामीले? के
मानेनौं हामीले? राणाहरुको जहानियाँ शासनको अन्त्य नै रामराज्यको स्थापना हो भनेर घोकाइयो र
राणाहरुका बिरुद्धमा उभियौं। सयौं
मुसा भन्दा एउटा सिंह शक्तिशाली हुन्छ भने,पत्यायौं। बिष्णु भगवानका साक्षात अवतारको
छत्रछायाँमा पबित्र होइन्छ भने, “होला” भन्यौं र जनताका लागि जनताकै शासन उपयुक्त
हुन्छ भनियो, हामीले मसाल बाल्यौं। अनि यस्तै-यस्तै अनेक मन्त्र र ऋचा घोकाइयो
हामीले चुपचाप मान्यौं र “पट्टु” बन्यौं।
कहिले बन्दको लागि
इट्टा हान्यौं,कहिले हत्केलामा मुटु राखेर बन्दुक बोक्यौं,कहिले चुपचाप-चुपचाप
छद्मभेषमा नारा लेखिएका पर्चाहरु फाल्यौं तर अफसोच नतिजा “पुनर्मुसीको भव:” भयो। हामी “जस्ताको त्यस्तै,भेंडालाई निस्तै” भयौं।
आज बानेस्वर चोकमा
अचानक एकजना सिंगापुरका कवि भेटिए। नजिकै रहेको संबिधान सभाको भवन गर्वका साथ देखाएँ।
प्रसङ्ग राजनीति तिर मोडियो तर दुखद कुरा, उनी आफ्नै देशको राजनीतिका बारेमा दक्खल
थिएनन् र हाम्रो देशको राजनीतिक लवज र प्रसंगलाई चासो दिएनन्,उनले भने “साच्चिकै,
म अनविज्ञ छु।मलाई बिहान उठेर जानुपर्ने जागिर र कार्यालयको लोकेसन अनि कार्यालयका
केहि बोशहरुको बाहेक अन्य कुरा त्यति थाहा हुँदैन।” हाँसेर सोधें “अनि के को
बारेमा लेख्छौ त कविता? देश र जनताको बारेमा लेख्दैनौ?” उनले भने “म त कार्यालयबाट
देखिने र कहिलेकाहीं घुम्न निस्कदा देखिने दृश्य र प्रकृतिको कविता लेख्छु, आफ्नै
प्रेमिका र दैनिक खुसी र अफ्ठ्याराको कविता लेख्छु।” उनले राजनीतिक बिसय र चासोलाई
“अनावस्यक” भन्दै थपे “मलाई यसरी फाल्तु बिसयमा सोच्ने समय पनि हुँदैन,काममा
गयो,घुम्न गयो,यसरी नै बित्छ।”
मलाई उससंगको भेट
पछी डाहा लागेर आयो। हे नेतागण! देशको बाटो र गन्तब्य तय गर्ने निर्णायक तिमीहरु
नै हौ। हाम्रा पालक,सम्रक्षक र हरणकर्ता तिमीहरु नै हौ। अहिले अरबका खाडीमा पसिना
बगाउन पठाएको तिमीहरुले नै हो।यो व्यवस्थाले हो। युरोपको सपना देख्न सिकाएको
तिमीहरुले नै हो। “आनाहासियो” र “ओहायोगोजाईमास्” रहरले सिकेका होइनौ। अमेरिका र
अस्ट्रेलियामा एन.आर.एन.का गतिबिधि त्यत्तिकै उचालिएका होइनन्। हामीलाई
अझै पनि बझांगको पिपलकोट गाविसमा गएर सेवा गर्न मन छ। हामीले अझैपनि ताप्लेजुंगको
ओलांगचुंग गोलामा सरुवा हुन चाहान्छौ।
“प्रभु,हामीले कहिले
यस्ता राजनीतिक प्रसंगबाट मुक्ति पाउने? हामीले कहिले आफ्नो काम भन्दा बढी सोच्नु
नपर्ने दिन पाउने? हामी कहिले आन्दोलन,बन्द,चक्काजाम र हड्ताल बिनाका समाचार हेर्न
पाउने?” आफैलाई उदेक लागेर आयो। “हाम्रो कुन पुस्ता छ जो राजनीतिक बितण्डामा
नमुछिएको होस्? कुन कथा छ जसमा राजनीतिक धोकाधडी नउनिएको होस्? हामी रुँदा की
सिपाहीकी बिधवा स्वास्नीको प्रसङ्ग हुन्छ,कि कुनै छापामारको टुहुरो छोरोको कथा
हुन्छ? वा कुनै लहरो राजनीति मै गएर जोडिएको हुन्छ।”
नेपाली राजनीतिक
इतिहास हेर्ने हो भने प्रत्येक दशक उथलपुथलले भरिएकोछ। खिचातानी,सड्यन्त्रले
भरिएकोछ। राज्य स-साना टुक्रामा रहँदा त्यस्ता घटनावृती दैनिक भैरहन्थे भने
राज्यका आकार बिस्तार हुँदै गर्दा संख्यामा केहि कम भए होलान तर परिणाममा ठुला भएर
गए। राजामहाराजा दिनदहाडै काटिनु,धोकाधडीका अनेक तानाबानामा मुछिएर,पारिवारिक र
नातागत तिक्डमका जालमा परेर राजामहाराजाका सन्तान-दरसन्तान कालगतीले वा सजिलै
मृत्युवरण गर्न पाएका थिएनन्। तर समयान्तरमा आधुनिक मानिने हाम्रो समयमा पनि
हाम्रा कुनै वर्ष पनि राजनीतिले सृजना गरेका अफ्ठ्याराबाट बिटुलो रहेन।
कुनै सडक छैन जहाँको
इट्टा शासकको बिरुद्धमा नफालिएको होस्। कुनै निद्रा छैन,नेतालाई गाली नगरी
आर्जिएको होस्। कुनै हँसिमजाक र बसिबियाँलो छैन, जहाँ दल र यिनका गतिबिधि
नकोट्याइएको होस्।
केहि वर्ष पहिले
एउटा गाविसमा राजनीतिक दलको खिचातानीले गाविसमा आउने बजेट फ्रिज भयो। पाटीपौवा र
कुलेसाका योजना अलपत्र परे। खानेपानी र सिंचाइका
योजना तुहिए। बाटोघाटो र नदिकटानका योजना खेर गए। यही प्रसंगमा त्यहाँका स्थानीयले
भने “के गर्नु आफ्नै गाउँका नेता हुन्,आफ्नै मान्छे हुन्,आफ्नै गाउँ हो,बाहिर गएर भन्यो
भने आफ्नै बेइज्जत हुन्छ। सकेसम्म मिलाउन
खोजेको हो सकिएन।
लाजको मर्नु भो।
यहि उदाहरण देशमै
पनि लागु हुन्छ। सकेसम्म हामीले नै बनाएका नेता हुन् भन्यो,सह्यो। कसैले हाम्रै
पाटीका हुन् भन्यो,मान्यो। कसैले अर्कोलाई अपजस दिएर उम्कियो अनि कोल्टे फर्कियो।
कसैले सकेको गरेकै हो,सकिएन भन्यो ,उम्कियो। र अति नै भयो भने “सतीले सरापेको देश
हो, होते रहते हे” भन्यो बाटो लाग्यो। यसै गरी हाम्रा दैनिकी बितिरहेका छन्। तर,
तर समय सधै एकै रहदैन महाशय,अहिले पो हाम्रै नेता हुन् भनेर सकुशल छौ। समयले
इतिहासमा नयाँ घटना रचना गर्नसक्छ, बेलैमा चेत।
मन्चमा पुनः जुकाहरु
उक्लिदैछन्। फेरी समयलाई हिजो कै कोठरीमा बन्द गरिदैछ। हे
हाम्रा “जगदिश्वरहरु” सम्झ “पहेंलो रंग सधै पबित्र हुदैन,रोगको सूचक पनि हुन सक्छ। ख्याल गर।”
©भण्डारी खहरे