कविता :-धेरै हिड्नु थियो

धेरै हिड्नु थियो 

धेरै-धेरै हिड्नु थियो जिन्दगीमा,
धेरै टाढा पुग्नुथियो जिन्दगीमा 
तर खै कहा पुगेछु र?
-हिडेछु मात्रै पैतालाको आयतन भरी,
-पुगेछु मात्र आखाको सीमाना भरी. 

मलाइ छिचोल्नु थियो,
आफ्नै घाटीको भक्कानो पहाड,
 र टेक्नु थियो गुलाबी पूर्वको  क्षितिज 
मैले टिप्नु थियो थियो 
कृष्ण पक्षमा हराएको आमाको चुरा
र बाबुको ज्याकेटको बटन जस्तो 
आखाको घाम,
र आफै पनि बनाउनु थियो 
इन्द्रेणी जस्तो छानो 
वा पसिनाकै सहि
 सन्तानको स्विमिंग पुल. 


मैले खोज्नु थियो 
संगीनिको फुली जस्तो ध्रुवतारा  
सिउदोको गर्विलो गुरास
र आफ्नै मायाको अंशबन्डा गर्ने  
मेरो भावी  परिचय. 

धेरै हिड्नु थियो 
तर के हिडिदो रहेछ  र !
पेन्डुलम जस्तो घामजून भएर 
बादल ,बर्सा,खहरे र सागर जस्तो नियति भएर 
अह! कहिँ पुगीदो रहेनछ 
प्रत्येक ह्यांग ओभर पछिको पछुतो भएर,
वा अनिदो रात पछिको 
बेश्या  बिहान भएर 
अह! कहिँ पुगीदो रहेनछ 

मलाइ  माछा चराइरहेको बकुल्लो जस्तै 
संचयकोस खर्चिदै 
उगिरहनु थियो,
मलाइ अखबारको सिरानीमा 
निदाउनु र बिउझिनु थियो 
मलाइ शुभारम्भको "गणेश" 
र  दुखको बेला "राम-राम" बन्नु थियो.

तर आफ्नै मुटु भएपछी बन्चरो
आखा भएपछी बाढी,
सुस्केरा भएपछी पहिरो,
र श्वासप्रश्वास भएपछी आधी,
अह! कहिँ पुगीदो रहेनछ.

धेरै हिड्नु थियो जिन्दगीमा. 

कविता :-झरी र सम्झना

 कविता :-झरी र सम्झना 


झरी र झरीकै संगीत ,
झरी र झरीकै चिसो,
झरी र झरीकै चंचलता, 
झरी र झरीकै भूमिका, 
यस्तै बीच 
उसले यताउता हेरी
 र
खोजी
मेरो जुठो कफी.  
*****************

कबिता "राधा "

राधा

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।

बिचरो साधु!
तिमीले प्राथना गर्दा ,
तिम्रो समर्पण सम्झियो होला।

तिमीले चढाएको प्रसादबाट,
बिस्तारै तङ्रियोहोला।

तिमीले ढोग्दा,
तिम्रो बक्ष देख्योहोला।
अनी
 तिमीले छर्केको जलले,
अचानक,
कम्पन पैदा भो होला,
र त
तिमीलाई अंगाल्यो।

बिचरो साधु!

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।
           **************

कविता- "पाइला"

पानी जीवन हो,
-श्वास् जस्तै,
-घाम जस्तै,
-आगो जस्तै,
-प्रेम जस्तै।

उसलाइ थाहा थियो सबै,
ऊभाएर पानी अन्जुलीमा
हेरी र देखी, आफ्नै प्रतिबिम्ब,
- धूक्धुकी जस्तै,
- स्पर्स जस्तै,
र गन्तब्य जस्तै पनि।

तर अन्जुली को पानी पोखियो,
-आँशु जस्तै;उसको गोडा छेउमा।

उ बलियो पाइला टेकेर हिँडि- घ्रीणाको।
**********

हल्लाहरुको देश

 हल्लाहरुको देश हो यो, यहाँ हल्लाहरुको ताँती छ।
यो कोलाहलको  देशमा,नबोलेकै जाती साथी,
नसुनेकै जाती छ।

गड्याङगुडुङ आकाशमा पानी कैले पर्दैन,
रोइराख्छ खहरे, मुसो कैले मर्दैन,
यो आँशु-आँशुको देश् हो, यहाँ दुखै-दुखको ताँती छ,
यो रुनेहरुको देशमा नदुखेकै जाती साथी,
नरोएकै जाति छ।

कराइराख्छन कागहरु, पिना सुक्दै रहन्छ,
आउछन, जान्छन माग्नेहरु, कुकुर भुक्दैरहन्छ,
अभाब मात्रको देश हो यो, यहाँ मगन्तेहरुको ताँती छ,
यो माग्नेहरुको देशमा, नदेखेकै जाती साथी,
नसुनेकै जाती छ।