पाइलैपिच्छेको कुरुक्षेत्र



प्रत्येक ग्रीस्ममा,
केहि हुल “आगोहरु” जेठ झोंसेर छाती भरी,
धुँवाहरुसंगै शहिद हुन्छन्l

शरदको शान्त फुलबारी गाउँमा,
चरम गहिरो सिरोटोको झोक्काहरु,
गरिब बस्तीमा छिर्दा,
धुलोमा बनाएर,
रंगिन र एकनाशको चित्र-भबिस्यको,
देखाउदै रंग खुइलिएको आकृति पुराना
मार्क्स,माओ,कृस्ण र किराँत,
मान्छेहरु एकटक हेरीरहन्छन् र मोहित हुन्छन्,
उत्सब मनाउदै
मातिन्छन् नशाहरुमाl

यसैगरी
केहि झोक्का लहरहरुसंगै
प्रत्येक बर्साद्मा
एक हुल खोलाहरु
हाम्रो घर भित्र छिर्छन्
हाम्रो आँखामा पानी छ्यापेर,
हामीलाई निथ्रुक्क रुझाएर निस्कन्छन्,
हामी चुपचाप सहन्छौँ,
सब आगमन र फिर्तीl

यसैगरी प्रत्येक मौसम दोहोरिरहन्छ
र दोहोरिरहन्छन्

-ऐजन-ऐजन ब्यबहारहरुl

©भण्डारी खहरे 

जुनकिरी


माफ गर जुनकिरी!!

म सक्दिन तिमीसंगै,
यो ओछ्यानमा चिहान फुलाउन l

अध्यारो गहिरिएको बेला,
सूर्यमुखी फूल झैँ सम्मोहित हुँदै,
कम्पन र गुन्जनहरुबाट,
आतशबाजीसंगैको तिम्रो आगमन,
अनि सहयात्राको आब्हान,
........................................
कस्तरी आउछेउ है.......तिमी?

धिप-धिप
उज्यालो धुक्धुकी,
मेरा चकमन्नताहरुमा,
-गोरेटो कोर्न,
-पौरख फुलाउन,
सम्भावनालाई आकार दिन,
घुर्मैलो क्षितिज लिएर आउछेउ तिमी,
तर
म सन्नाटाले जमेको बेला,
पच्दैन बुध्दबाणी
र हुत्तिन्छु बाछिटा जस्तै,
तर तिमी
सुनाइरहन्छेउ गीत,
-रीप छ भने घाम बन्छु-भन्दै,
-फराक छ भने स्वरूप दिन्छु-भन्दै l

जब पोखिन्छेउ पुरै,
निबस्त्र-मेरो गोडामा
र भन्छेउ-
आफैसंग के को लाज?
आफनै स्पर्शमा के को काउकुती?
तर
म बुझ्दिन यस्ता लवज
र देखाउंदै परको चट्टान,
भन्छु “म आएको बाटो त्यहि हो,
नपत्याए, हेर यो बाक्लो पैताला l

त्यसपछी तिमी
पोखेर जान्छेउ
गहिरो गुफा-म भित्र l
म ढुन्मुनीरहन्छु l

माफ गर जुनकिरी,

म सक्दिन यो अध्यारोको सागर तर्न l

© Bhandari Khahare

हामीलाई कुकुरले गिज्याइरहेछ।

भारतीय कवि प्रितम सिंह “जख्मी”को कविताको एउटा अंश याद आयो।


 “आज भी कुत्ते कि बफादारी परख्ने कि जरुरत नही है,
पर आज कुत्ता आदमीको अज्माने लगा है,
और जबसे बुझाने लगा है प्यास-
आदमी, आदमी के खुन से,
तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है,
तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है।”

 (आज पनि कुकुरको बफादारीमा शंका गर्नु पर्दैन तर मान्छे यसरी स्वार्थी र हरामी भयो कि कुकुर(पशु)ले पनि सर्वश्रेष्ठ प्राणि मान्छेलाई शंका गर्दैछ।)

यो दुनियाँ बिचित्रको छ। हामी मनलागी गर्न माहिर छौं। मानौं अहिलेको लोकतान्त्रिक स्वतन्त्रताले मनोमानी गर्न पुरै इजाजत दिएकोछ। जे चित्त पर्छ, त्यो गर्न छुट दिएकोछ तर हामी कहिल्यै सोच्दैनौं, हाम्रा पनि जिम्मेदारी छन्,कर्तब्य छन्। नेपालको प्रजातन्त्रको प्रसङ्गमा एकजना अंग्रेजले भनेका थिए रे “नेपालीहरु प्रजातन्त्र र स्वतन्त्रताको लागि लायक छैनन्,भेडालाई खोर मात्र उपयुक्त हुन्छ।”

केहि दिन अघि ट्याक्सी ब्यबसायीहरुको टुडिखेल वरीपरी र खुल्लामंचमा हेरिनसक्नुको जात्रा गरे। नयाँ ट्याक्सी थप्ने सरकारको निर्णयको बिरोधमा उनीहरु आन्दोलनमा थिए। उनीहरु यातायातको क्षेत्रमा अर्को प्रतिस्पर्धी देख्न चाहादैनन्। उनीहरुलाई आफ्नो एकलौटीमात्र जायज छ। यही सेरोफेरोमा एकजनाले सामाजिक संजालमा लेखेकाथिए “यसरी जे मन लाग्यो त्यहि गर्न पाइन्छ भने सरकार, मलाई एउटा ब्यांक लुट्ने व्यवस्था मिलाई दे।”

यो फेसबुक र ट्वीटरको जमाना छ। मन लागेको लेख्न पाइने छुट भएपनि त्यसमा पनि सीमा छन्,मर्यादा छन्। तर हामी दिनदिनै समाचारमा देख्छौं, सोलुखुम्बुमा फेसबुकबाट महिलालाई ब्ल्याकमेल गर्ने समातिए, दाङबाट   फेसबुकमा अश्लिल कमेन्ट लेख्ने पक्डिए। यी सबै नियमित भएकाछन्।

म प्राय देख्छु,कलेज पढेर आएका शिक्षित वा शिक्षित हुन अग्रशर युवायुवतीहरु आकाशे पुलको मुनिबाट बाटो काटिरहेका हुन्छन्। हामी सकेसम्म जे काम पनि चोरबाटोबाट गर्न उद्दत हुन्छौं। हामी पौराणिक कथामा वर्णित राजकुमार झैँ छोटो बाटो हिंडेर आफुलाई बहादुर बनाउनेमा लक्षित छौं। हामीसंग ठग्ने बाहेकको सोंच नै छैन। ब्यापारीहरु ३००% नाफा खान,सकेसम्म फर्जी बिल बनाएर भ्याट छल्न लालायित छन्। मालिकहरु सकेसम्म मजदुरलाई निचोर्न र धेरै मुनाफा कुम्ल्याउन कटिबद्ध छन्। कामदार र मजदुरहरु काममा भन्दा दाम र आरामको पछाडि अग्रसर छन्। नेताहरु राजनीतिलाई पेशा र जनताका मुद्दालाई पदसम्म पुग्ने सिंढीको रुपमा सोच्छन।

 हामी यस्तो संस्कार र प्रणालीबाट दिक्षित भयौं कि जसले आफुसंग भएको “कस्तुरी” चिनाउने होइन कि “लक्ष्मी” लाई चिनाउने वा प्राप्त गर्ने तर्फ उत्प्रेरित गर्छ। बिद्यालयमा विद्यार्थीले पढ्नुको वा पढाउनुको एउटा मात्र लक्ष्य परिक्षा पास गर्नु हो। त्यसपछिको लक्ष्य पैसा कमाउन र बिक्नको लागि सहयोगी हुने खालको शिक्षा लिने हुन्छ।
लेखको खास प्रसंग तिर जाउँ।

एउटा केहि दिन अघि संबिधानको मस्यौदामा सुझाब संकलन नामको नाटक मन्चन भयो। कलाकारहरु दर्शकदिर्घा मै गएर प्रस्तुती दिए तर प्रसङ्ग त्यो नाटकको समिक्षा वा कलाकारिताको समालोचनाको होइन। प्रसङ्ग दर्शकको प्रतिक्रियाको हो। केहि सुझाब यस्ता पनि आए कि जुन हास्यप्रधान थिए। भलै, त्यसको गाम्भीर्यता र तिनको पुस्टिका तर्कहरु आफैमा महत्वपूर्ण होलान् तथापि तिनले चर्चा गतिलै पाए।

तर त्यस मध्ये रास्ट्रिय जनावर कुकुर हुनुपर्ने सुझाब पनि प्राप्त भएको जानकारी आयो। कुकुरको बान्की,रुप र आकारका अधारमा भन्दा पनि त्यो प्रस्ताब कुकुरको बफादारिता,कर्तब्यबोध र जिम्मेदारितामा आधारित थियो।

हामी कुकुरलाई तिहारमा पूजा गर्छौ किनकि उसको बफादारीलाई पूजा गर्छौं तर प्रत्येक वर्ष गरीने उसको बखान र चर्चा भोलि पल्ट देखि बिस्तरिन्छ, हराउछ। पोहोरको गाइजात्रा छेक बामदेब गौतम उर्फ गृहमन्त्रीले रत्नपार्कमा बाटो काट्दै गरेको तस्बिर र कुकुरले जेब्रक्रस प्रयोग गरेको तस्बिर जोडिएर आए। यसको अर्थ हामी पशु भन्दा पनि तल गिरेका छौं भन्ने हो। हुन त पशु अधिकारकर्मीले पशुनिन्दा सहदैनन् तर पशुलाई रचयिताले नै केहि कम क्षमता दिएर पठाएकोछ तर सर्बोत्तम प्राणी मान्छे नै उत्कृस्टताको पगरीका लागि अयोग्य त छैन? हामी माथि रचयिताले गरेको मेहेनत खेर गैरहेको त छैन?
हामी कुन गन्तब्य तर्फ जादै छौ?

एक जना डाक्टरले आफ्नो अस्पतालको बोर्डमा लेखेर राखेका थिए:-
-साँप काट खाए तो एक दिन मे ठिक कर देते है,  
-बिच्छु काट खाए तो दो दिन मे ठिक कर देते है,
-अगर पागल कुत्ता खाए तो सात दिन मे ठिक कर देते है,
तर तल नोटमा लेखेको थियो,
-अगर आदमी,आदमीको काट खाए तो, कृपा कर,हमारे यहाँ मत आए, उसका हमारे पास कोइ इलाज नही है
मान्छे यसरी बिषालु भैरहेकोछ कि उपचार नै असम्भब भएकोछ। हामी पशु भन्दा पनि हिंसालु भएकाछौँ। हाम्रो मानवियतालाई पशुको बिशेसताले जितेकोछ।

यहाँ धेरै कुरा लेख्नुको कुनै अर्थ छैन। आफ्नो वरिपरी थोरै नजर डुलाउनुस अनि आफैले आफैलाई प्रश्न गर्नुस्। के तपाई भित्र अझै “हरी” जिवितै छ त?
त्यसैको गतिलो व्यंग हो माथिको कविता।
जबसे बुझाने लगा है प्यास-
आदमी, आदमी के खुन से,

तब से रोटियाँ भी कुत्ता, सुघकर  खाने लगा है।

©Bhandari Khahare

कथा :- ढुंगी थुप्रो


हिउदको महिनाl घाम बलिथुमको डाँडो मुनी लुकिसकेको थियोl किसानहरु खेतको काम सकेर पाखा तिर उक्लदै थिएl
त्यो बेलामा मान्छेहरु बेशीमा बस्दैन थिएl औलोको डर हुन्थ्योl बेशीमा साना-साना कटेरा बनाउथे र कामको माँचो हुँदा कैलेकाही कटेरामै रात बिताउथेl काम गर्दागर्दै पानी परे ओतिन,गोरु बाध्न,अर्नी खान,धोक्रा र डोका-नाम्ला राख्न तथा धान,पराल र अन्य बालीलाई ओत दिनका लागि कटेरो प्रयोगमा आउंथ्योl

कोहि धानका बोरा बोकेर उकालो चढ्दै थिएl कोहि परालका भारि लिएरl कोहि गोरु लखेट्दै हलो-जुवा काँधमा राखेरl साना-साना केटाकेटी कन्नामा सानो कुटुरो बोकेर घर फर्किदै थिएl

डाँडाको बस्ती र बेशीको बीचमा ठुलो चौतारो थियोl झ्याम्म फैलिएको पिपलको रुखl  ठूला-ठूला छपनी बिछ्याइएकोl टाढा-टाढासम्म फैलिएका पिपलका हाँगाहरु देख्दा लाग्थ्यो, बटुवालाई शितल दिन हातहरु फिंजाईरहेकोछl
उकालो लागेका किसानहरु सबै त्यही चौतारोमा आफ्ना भारी बिसाएl दिन भर गरेका काम र भोलीको मेलोको चर्चा गर्न थालेlगाउँले र छरछिमेकको बारेमा कुरा गर्न थालेl

एकजनाले भन्यो:- “फल्नो त कति बइल्लो,आज पाँच खेप धान बोकेर अईले टौवा जत्रो परालको भारी पनि बोकेर आ”छl”
अर्कोले थप्यो:-“त्यस्का त सबै सन्तानै त्यस्तैl बाउ पनि त्यस्तै थेl क्या जिउ परेछ तिन्को तl”
-“बाउले त सिङ्गै भैसी उचाल्थे रे,जुरुक्कैl”
-“खान पनि कति खान्थे नि बाबै..l हाम्ले खा’नि पाँच जनाको त स्वात्तै पार्थे,एक्लैl”
-“तिन्लाई डर त सिन्को जति पनि नलाउनी रेl पुसुत्तै हुन्थेनन् रे केई सित पनिl”
र गाउँले बीच अहिलेको बलियो र निडरको चर्चा भयोl
त्यत्तिकैमा कसैले उ बलियो,कसैले फलानो बलियो,कसैले म बलियो भन्न थालेl बिस्तारै बिबादै हुन थाल्योl हानाथाप हुन थाल्योl
-“फल्नाले त तिन तारे झुल्कनी बेलाँ सिस्नेको मसानघाटका मुर्दार पोलेका अंगार ल्या भने पनि ल्याउचl”
-“जाबो अंगारl फल्नाले त खसिमारेको चित्वाको ओढाराट किराका बच्चै झिकेर ल्या भने पनि ल्याउचl”
अर्कोले बोल्यो :-“चित्वाका छाउरा जाबा त मैले नि ल्याउचुl”
अर्कोले जबाफ फर्कायो :-“ल्याइस तँ फित्कालेl”
-“नत्र भा तैले ल्याउचस् त साप्रेl”

बिस्तारै बिसयले झगडा कै रुप लिन थाल्योl को निडर भन्ने कुराको निधो गर्न कसैले सकेनl केटाकेटी र आइमाई छेउकुना पसिसकेका थिएl
त्यत्तिकैमा बेतको लौरो टेक्दै,दौरासुरुवालमा ठाँटिएका,काँधमा सुकिलो तौलिया भिरेका मुखिया टुप्लुक्क आइपुगेl सबैको ध्यान मुखिया तिर गयोl
-“चौतारोमा के को कंकलीशब्द हो? खुबै छ त डाँको गाँउलेकोl”मुखियाले किसानहरुलाई सोधेl
किसानहरुले सबै बेलिबिस्तार लगाएl
मुखियाले भने:-“ए तेसो पोl ल त्यसो भा आज राती तिन तारे जुभुंगका डांडामा टेकिनी बेलाँ, जस्ले गएर  च्युरिको लेखाँ दुङ्गो गाडेर आउचl तेइ निडरl”
“म जान्चुl” हतार-हतार एउटा किसान उठ्योl
“ल ठिक छl त्यो सिद्द्को थान आउनी बेलाको तेर्पाएँ बाटो न आउदै थोरै सम्मो छ नि.....हो तेइच्चिम ढुङ्गो गाड्न पर्च बुजिसl” मुखियाले थप प्रस्ट्याएl
 -“त्याँट सुन,हामी राती कुरेर बस्चम,तँ राती नै आउन पर्चl भोली ब्यान यिनी केटाहरु गएर हेर्चनl”
“हुन्चl” किसानले जबाफ फर्कायोl
बिबाद सकियोl थकाइ पनि मर्यो अनि सबै घर तिर उकालो लाएl
*******

राती केहि गाउले मुखियाको घरमा जम्मा भएl किसान तिन तारे जुभुंगको डाँडोमा पुग्नै लाग्दा बाटो लाग्योl “ल छिटो आउनुl यीनीहरु यहि कुरेर बसेका हुन्चनl”
शुक्लपक्षको रात भएकोले टहटह जुन लागेका थिएl राती चितुवाको डर हुने हुँदा किसानले एउटा लठ्ठी र खुर्पा बोकेर हिंडेको थियोl त्यो ठाउँमा झाक्री र पिचास हुन्छ भनेर साँझै कसैले कानमा पारीसकेको थियो, त्यसैले अलिकति फुकेको चामल र मास पनि खुसुक्क दौराको फेरमा बाँधेकोथियोl
सुनसान बाटोl
मान्छेहरु सबै सुतिसकेका थिएl बाटोमा घरहरु पातला थिएl कुकुरहरु भुक्थेl झ्याउकिरी कराइरहेकाथिएl
बिस्तारै किसान उकालो लाग्योl
बस्ती काटे पछी झन्-झन् सुनसान हुन थाल्योl अलिकति डर लाग्न थाले जस्तो भयोl तर दिउसोको बाचा सम्झेर पाइला बलियो पारेर हिड्योl
पुराना भूतका कथा कताकता मनमा खेल्न थालेl बाघ भालु गर्जेको जस्तो आवाज सुनिन थाल्योl कताकता आइमाई हाँसेको जस्तो लाग्न थाल्योl बेलाबेलामा खुर्पा बलियो गरेर समाउथ्योl दौराको फेरमा बाँधेको चामल र मास छाम्थ्योl
जसरी भए पनि उसलाई निडर कहलिनु थियो र पाइला बढाउदै हिडीरह्योl
सानो गोरेटोl छेउछेउबाट तान्न आउने टिमुर,ऐसेलु र चौतारीका काँडाl बेलाबेला झाडीले गर्दा कुइनेटामा पर्ने बाक्लो छायाँl
उसले केहीको प्रबाह गरेन र गन्तव्यमा पुगेरै छोड्योl
माथि भेटिएला कि नभेटिएला भनेर तलै देखि बोकेर ल्याएको लाम्चो ढुङ्गो दौराको गोजीबाट निकाल्यो र भुइँमा गाड्न थाल्योl
ढुङ्गो बलियो गरी गाडेर जुरुक्क उठ्न के खोजेको थियो, उठ्नै सकेनl भुइँबाट केहि बस्तुले ताने जस्तो भयोl जति कोशिस गरेपनि सार्थक हुन सकेनl 
एक्कासी उसलाई सबै भुत,पिसाच,झाक्री र किचकन्याको याद आयोl
भनन्न रिंगटा लागे जस्तो भयोl
घुप्लुक्क ढल्यो र होश हरायो अनि केहि समयमै प्राण गुमायोl
****

तल गाउमा मान्छेले कुरिरहेl किसान फर्केनl उज्यालो भयो,अहँ किसानको कुनै फर्कने चाल देखिएनl गाउले जम्मा भएर किसानलाई खोज्न जाने निधो गरेl लेखको बस्तीमा सोधियो, कतैबाट उसको खबर आएनl
कतै नदेखेपछि गाउले सिद्दको थान तिर हिडेl
त्यहाँ पुग्दा त किसान पल्टिएकोछl उठाउन खोजेl केहि चिजले अल्झाए जस्तो भयोl
एसो तल हेर्दा त किसानले दुङ्गो ठोक्दा आफ्नो दौराको फेर भुइँमा लत्रिएको रहेछl त्यही फेरमा पनि ढुङ्गो ठोकेछ र उठ्न खोज्दा नसकेपछि आत्तिएर प्राण त्यागेछl
*****

गाउलेले दुख मानेl
****

सो दिन देखि त्यही किसानको सम्झनामा हालको ढुंगी थुप्रिमा ढुङ्गा चढाउँन थालियोl
र आफु पनि किसान जस्तै निडर रहेको भन्ने देखाउनको लागि प्रमाण स्वरूप ढुङ्गा चढाउँन शुरु गरेl
*********
(जनश्रुतीलाई आधार मानेर यसलाई कथाको रुप दिइएको होl यो स्थान गुल्मी,रुपाकोटमा पर्छ l)


 © भण्डारी खहरे 

सुन नेताहरु हो “तिमीहरु राम्रा होइन, हाम्रा भएर बचेका हौl



के सहेनौं हामीले? के मानेनौं हामीले? राणाहरुको जहानियाँ शासनको अन्त्य नै रामराज्यको स्थापना हो भनेर घोकाइयो र राणाहरुका बिरुद्धमा उभियौं। सयौं मुसा भन्दा एउटा सिंह शक्तिशाली हुन्छ भने,पत्यायौं। बिष्णु भगवानका साक्षात अवतारको छत्रछायाँमा पबित्र होइन्छ भने, “होला” भन्यौं र जनताका लागि जनताकै शासन उपयुक्त हुन्छ भनियो, हामीले मसाल बाल्यौं। अनि यस्तै-यस्तै अनेक मन्त्र र ऋचा घोकाइयो हामीले चुपचाप मान्यौं र “पट्टु” बन्यौं।

कहिले बन्दको लागि इट्टा हान्यौं,कहिले हत्केलामा मुटु राखेर बन्दुक बोक्यौं,कहिले चुपचाप-चुपचाप छद्मभेषमा नारा लेखिएका पर्चाहरु फाल्यौं तर अफसोच नतिजा “पुनर्मुसीको भव:” भयो। हामी “जस्ताको त्यस्तै,भेंडालाई निस्तै” भयौं।
आज बानेस्वर चोकमा अचानक एकजना सिंगापुरका कवि भेटिए। नजिकै रहेको संबिधान सभाको भवन गर्वका साथ देखाएँ। प्रसङ्ग राजनीति तिर मोडियो तर दुखद कुरा, उनी आफ्नै देशको राजनीतिका बारेमा दक्खल थिएनन् र हाम्रो देशको राजनीतिक लवज र प्रसंगलाई चासो दिएनन्,उनले भने “साच्चिकै, म अनविज्ञ छु।मलाई बिहान उठेर जानुपर्ने जागिर र कार्यालयको लोकेसन अनि कार्यालयका केहि बोशहरुको बाहेक अन्य कुरा त्यति थाहा हुँदैन।” हाँसेर सोधें “अनि के को बारेमा लेख्छौ त कविता? देश र जनताको बारेमा लेख्दैनौ?” उनले भने “म त कार्यालयबाट देखिने र कहिलेकाहीं घुम्न निस्कदा देखिने दृश्य र प्रकृतिको कविता लेख्छु, आफ्नै प्रेमिका र दैनिक खुसी र अफ्ठ्याराको कविता लेख्छु।” उनले राजनीतिक बिसय र चासोलाई “अनावस्यक” भन्दै थपे “मलाई यसरी फाल्तु बिसयमा सोच्ने समय पनि हुँदैन,काममा गयो,घुम्न गयो,यसरी नै बित्छ।”

मलाई उससंगको भेट पछी डाहा लागेर आयो। हे नेतागण! देशको बाटो र गन्तब्य तय गर्ने निर्णायक तिमीहरु नै हौ। हाम्रा पालक,सम्रक्षक र हरणकर्ता तिमीहरु नै हौ। अहिले अरबका खाडीमा पसिना बगाउन पठाएको तिमीहरुले नै हो।यो व्यवस्थाले हो। युरोपको सपना देख्न सिकाएको तिमीहरुले नै हो। “आनाहासियो” र “ओहायोगोजाईमास्” रहरले सिकेका होइनौ। अमेरिका र अस्ट्रेलियामा एन.आर.एन.का गतिबिधि त्यत्तिकै उचालिएका होइनन्। हामीलाई अझै पनि बझांगको पिपलकोट गाविसमा गएर सेवा गर्न मन छ। हामीले अझैपनि ताप्लेजुंगको ओलांगचुंग गोलामा सरुवा हुन चाहान्छौ।
“प्रभु,हामीले कहिले यस्ता राजनीतिक प्रसंगबाट मुक्ति पाउने? हामीले कहिले आफ्नो काम भन्दा बढी सोच्नु नपर्ने दिन पाउने? हामी कहिले आन्दोलन,बन्द,चक्काजाम र हड्ताल बिनाका समाचार हेर्न पाउने?” आफैलाई उदेक लागेर आयो। “हाम्रो कुन पुस्ता छ जो राजनीतिक बितण्डामा नमुछिएको होस्? कुन कथा छ जसमा राजनीतिक धोकाधडी नउनिएको होस्? हामी रुँदा की सिपाहीकी बिधवा स्वास्नीको प्रसङ्ग हुन्छ,कि कुनै छापामारको टुहुरो छोरोको कथा हुन्छ? वा कुनै लहरो राजनीति मै गएर जोडिएको हुन्छ।”

नेपाली राजनीतिक इतिहास हेर्ने हो भने प्रत्येक दशक उथलपुथलले भरिएकोछ। खिचातानी,सड्यन्त्रले भरिएकोछ। राज्य स-साना टुक्रामा रहँदा त्यस्ता घटनावृती दैनिक भैरहन्थे भने राज्यका आकार बिस्तार हुँदै गर्दा संख्यामा केहि कम भए होलान तर परिणाममा ठुला भएर गए। राजामहाराजा दिनदहाडै काटिनु,धोकाधडीका अनेक तानाबानामा मुछिएर,पारिवारिक र नातागत तिक्डमका जालमा परेर राजामहाराजाका सन्तान-दरसन्तान कालगतीले वा सजिलै मृत्युवरण गर्न पाएका थिएनन्। तर समयान्तरमा आधुनिक मानिने हाम्रो समयमा पनि हाम्रा कुनै वर्ष पनि राजनीतिले सृजना गरेका अफ्ठ्याराबाट बिटुलो रहेन।

कुनै सडक छैन जहाँको इट्टा शासकको बिरुद्धमा नफालिएको होस्। कुनै निद्रा छैन,नेतालाई गाली नगरी आर्जिएको होस्। कुनै हँसिमजाक र बसिबियाँलो छैन, जहाँ दल र यिनका गतिबिधि नकोट्याइएको होस्।
केहि वर्ष पहिले एउटा गाविसमा राजनीतिक दलको खिचातानीले गाविसमा आउने बजेट फ्रिज भयो। पाटीपौवा र कुलेसाका योजना अलपत्र परे। खानेपानी र सिंचाइका योजना तुहिए। बाटोघाटो र नदिकटानका योजना खेर गए। यही प्रसंगमा त्यहाँका स्थानीयले भने “के गर्नु आफ्नै गाउँका नेता हुन्,आफ्नै मान्छे हुन्,आफ्नै गाउँ हो,बाहिर गएर भन्यो भने आफ्नै बेइज्जत हुन्छ। सकेसम्म मिलाउन खोजेको हो सकिएन। लाजको मर्नु भो।

यहि उदाहरण देशमै पनि लागु हुन्छ। सकेसम्म हामीले नै बनाएका नेता हुन् भन्यो,सह्यो। कसैले हाम्रै पाटीका हुन् भन्यो,मान्यो। कसैले अर्कोलाई अपजस दिएर उम्कियो अनि कोल्टे फर्कियो। कसैले सकेको गरेकै हो,सकिएन भन्यो ,उम्कियो। र अति नै भयो भने “सतीले सरापेको देश हो, होते रहते हे” भन्यो बाटो लाग्यो। यसै गरी हाम्रा दैनिकी बितिरहेका छन्। तर, तर समय सधै एकै रहदैन महाशय,अहिले पो हाम्रै नेता हुन् भनेर सकुशल छौ। समयले इतिहासमा नयाँ घटना रचना गर्नसक्छ, बेलैमा चेत।

मन्चमा पुनः जुकाहरु उक्लिदैछन्। फेरी समयलाई हिजो कै कोठरीमा बन्द गरिदैछ। हे हाम्रा “जगदिश्वरहरु” सम्झ “पहेंलो रंग सधै पबित्र हुदैन,रोगको सूचक पनि हुन सक्छ। ख्याल गर।”


©भण्डारी खहरे